Logo

कर्पोरेट फोकस

सिटिजन्स बैंकको खराब कर्जा बढ्यो, नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो



काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकका अधिकांस वित्तीय सूचक नकारात्मक देखिएका छन् ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २.०८ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ। जसअनुसार बैंकले ५.२५ प्रतिशत लाभांश बाँड्ने क्षमत राख्दछ।

चौथो त्रैमाससम्ममा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन २ अर्ब ४ करोड ८५ लाख रुपैयाँ थियो। तुलनात्मक हिसाबले बैंकको सञ्चालन मुनाफा पनि २.३२ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको रिजर्भमा ७ अर्ब ४० करोड ९४ लाख रुपैयाँ रहेको छ

समीक्षा अवधिमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

त्यसैगरी, बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ४.१० प्रतिशत थियो।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.७६ रुपैयाँ छ। अघिल्लो वर्ष यो ९.३० रुपैयाँ थियो।  बैंकको पीई रेसियो २६.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार २१:५१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।