Logo

प्रमुख समाचार

सडकमै केराको बोट रोपेर विरोध



भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् ।
बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर साङ्गेतिक विरोध गरेका हुन् ।
चाँगुनारायण नगरपालिका–९ अन्तर्गत रहेको ताथलीस्थित रामसीता मन्दिर क्षेत्रमा नगरपालिकाले गरेको ढलानसमेत अधुरो रहेकाले थप जोखिम निम्त्याएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।
अध्यक्ष सुरेशराज गिरीले रामसीता मन्दिरसँगैको सडकमै समूहले हस्ताक्षरसहित ‘ब्यानर’ राखेर विरोध सुरु गरेको र जनप्रतिनिधिलाई जानकारी गराइएको बताए । उनले स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सडकमै केराको बोट राखेर साङ्गेतिक विरोध गरेको बताए ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक जगाति साँगा धुलिखेल सडक छ लेनमा विस्तार भइरहेकाले ‘च्यामासिंह–ताथली–नाला’ सडकमा दैनिक हजारौँ सवारीसाधनको चाप बढेको अध्यक्ष गिरीले बताए । ‘ताथलीको भञ्याङमा सडक नै खस्न लागेर जोखिमपूर्ण अवस्था छ । रामसीता मन्दिरसँगैको अधुरो सडक जीर्ण भएर दैनिक जाम र दुर्घटनाको जोखिम बढेको छ, तर व्यवस्थापनमा ध्यान दिइएको छैन । यसलृ ब्रम्हायानी चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका स्थानीय बढी प्रभावित भएको छौँ’, उनले भने ।
तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेको सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामाङ्करण गरिएको छ ।
0000000
कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा हतियारसहित सुरक्षाकर्मीको प्रवेश
काठमाडौं । कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित मानव अधिकार आयोगको टोली पनि कारागार प्रवेश गरेको छ ।
प्रशासन स्रोतका अनुसार, अहिले मानव अधिकार आयोगको टोलीले काम गरिरहेको छ । “मानव अधिकारको टोलीले काम गरिरहेको छ । प्रहरी त्यहाँको सुरक्षाका लागि हतियारसहित गएको हो,” स्रोतले भन्यो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले कारगारको अवस्था सामान्य बनेको जानकारी दिए ।
शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरीले कारागारभित्र प्रवेश गर्न सकेको थिएन । ब्लक ‘ए’का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’का कैदीबन्दीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ । अन्य ४९ जना घाइते भएका छन् ।
घटनापछि कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्ष नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १९:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।