Logo

प्रमुख समाचार

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै



पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ तथा बस्तीमा आजदेखि ‘अटवारी पर्व’को तयारी सुरु भएको छ ।

श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परिकार बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन् ।

भोलि आइतबार यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भइरहेको धनगढी उपमहानगरापालिका–१५ कनरीका थारु अगुवा रतीराम चौधरीले जानकारी दिए ।

पूजाआराधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने काम भइरहेको उनले बताए।

गाँउका बस्तीमा पर्वको व्यवस्थापनका लागि परिवारका सदस्य जम्मा भएर प्रत्येकले गर्ने कामको बाँडफाँड गर्न सामूहिक छलफलमा जुटेका छन् ।

पर्वमा दर खानाका लागि आज दिनभरि माछा मार्ने र विभिन्न थरीका तरकारी, सरसामानको जोहो गर्ने काम भइरहेको कनरी टोलका भलमन्सा टेकराज चौधरीले बताए।

‘अनदीको चामलबाट विभिन्न खानाका परिकार तयार पार्ने गरिन्छ’, उनले भने, ‘थारु रैथाने जातको उक्त धान प्राप्तिका लागि टाढाटाढाका थारु गाउँ, बस्तीमा गएर खोजी गर्ने र साटबदल गर्ने गर्छौँ ।’

दुई दिनसम्म मनाइने यो पर्वमा आइतबारको अघिल्लो दिन अर्थात् आज राति व्रतालुले दर खाने चलन छ ।

पर्वको पहिलो दिन भोलि व्रतालु पानीसमेत नखाई आधा दिन निरहार व्रत बस्ने गर्दछन् भने मध्याह्नमा नजिकैको नदी, पोखरी वा तलाउमा गएर स्नान गरी पूजाआरधना गर्ने चलन रहेको टेकराजले बताए।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार १९:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।