Logo

खेलकुद

साउथ अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा नेपालको हार



काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार खेलिएका दुई वटा टी-२० अभ्यास खेलमा पराजय भोगेको छ । नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको हो।

बिहीबार विहान भएको पहिलो अभ्यासमा पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४६ रन जोड्यो । नेपालका लागि भीम सार्कीले ३२ रन, दीपेन्द्रसिंह ऐरीले २६ रन, आसिफ शेखले २२ रन र आरिफ शेखले २१ बनाए । बलिङमा साउथ अस्ट्रेलियाका चामबेल थमसन, थोमस ब्राउन र ह्यारी मनेन्टीले २-२ विकेट लिए ।

१४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकाल्यो । साउथ अस्ट्रेलियाका लागि जेक विन्टरले सबैभन्दब ढी ३६ रन बनाए । बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट र नन्दन यादवले २ विकेट लिन सफल भए ।

दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १५७ रनमा अलआउट भयो ।

रुपेश सिंहले १९ बलमा ३७ रन तथा लोकेश बमले २६ बलमा ३२ रन बनाए। नेपाल ८२-६ को अवस्थामा हुँदा यी दुई मिलेर अर्धशतकीय साझेदारी गरेपनि जित दिलाउन सकेनन् ।

रुपेश र लोकेश दुवै १९औं ओभरमा क्याच आउट भएका थिए । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा करण केसी स्ट्राइकमा भएपनि उनी पनि क्याचआउट भए । त्यसपछि शाहब आलमले एक चौका प्रहार गरेर अन्तिम बलमा ४ रन आवश्यक हुँदा शाहब बोल्ड भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाउँदै नेपाललाई १६१ रनको लक्ष्य दिएको थियो ।

साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले समान २९ रन बनाए ।

नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १४:३६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।