प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमण विवादमा परेको छ । प्रधानमन्त्री ओलीको एउटा देशविरुद्ध अर्को देशको सैन्य परेडमा सहभागी हुने कार्यतालिका सार्वजनिक भएपछि उनको भ्रमण विवादमा तानिएको हो । जापान नेपालको प्रमुख दाता राष्ट्र हो ।
चीनले दोस्रो विश्वयुद्धमा (८० वर्षअघि) जापानलाई हराएको अवसरमा १८ भदौमा आयोजित सैन्य परेडमा राष्ट्रपति रामचन्द्र पौडेललाई निम्ता आए पनि उनले अनिच्छा व्यक्त गरेपछि प्रधानमन्त्री ओली सहभागी हुँदै छन् ।
जापानसँग नेपालको सम्बन्धलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले कार्यक्रमिक भ्रमणमा नभएर राजकीय भ्रमणमा जाने इच्छा जनाएर पन्छिएका थिए । तर, प्रमुख दातृ देश जापानसँगको सम्बन्धलाई प्रधानमन्त्रीले ध्यान नदिएको जानकारहरूले टिप्पणी गरेका छन् ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली १५ भदौमा चीनको तियानजिन महानगरमा आयोजना हुने सांघाई को–अपरसेन अर्गनाइजेसन (एससिओ)मा सहभागी हुनेछन् ।
त्यसपछि १८ भदौमा बेइजिङमा सैन्य परेडमा सहभागी हुँदै छन् । चीनका सहायक विदेशमन्त्री होङ लेईले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा २६ विदेशी राष्ट्रप्रमुख/सरकारप्रमुखहरूले बेइजिङमा आयोजना हुने चीनको विजयोत्सवमा सहभागी जनाउनेछन् ।
सहभागी शीर्ष नेताहरूको सूचीमा दक्षिण एसियाली कार्यकारी प्रमुखहरूमा नेपालका प्रधानमन्त्री ओली, पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइजुको नाम उल्लेख छ । समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन, कम्बोडियाका राजा नरोद्दम सिहामोनी, इरानी राष्ट्रपति मासुद पेजेस्कियन, भियतनामी राष्ट्रपति लुओङ कुओङ, लाओसका महासचिव तथा राष्ट्रपति थोङलुन सिसोउलिथ, इन्डोनेसियाका राष्ट्रपति प्रबवो सुबिआन्तो, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखलगायत सहभागी हुँदै छन् ।
चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले प्रधानमन्त्री ओली एससिओ सम्मेलनबाट स्वदेश फर्किनु हितकर हुने बताए । ‘प्रधानमन्त्री एससिओ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएको भए देशलाई बढी हितकर हुन्थ्यो,’ उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले एउटा देशविरुद्ध अर्को देशको अपरेसनको विजयोत्सव मनाउन जानु जायज नभएको टिप्पणी गरे । ‘यो परेडमा सहभागी हुँदाको राजनीतिक र कूटनीतिक परिघटना के–कति सामना गर्नुपर्छ भन्ने प्रधानमन्त्रीले सोच्नुपथ्र्यो । हाम्रा लागि छिमेकी चीनको महत्वसँगै मित्रदेश जापानको महत्व कति हो भनेर विचार पुर्याउन सकिएन जस्तो लाग्यो । यो कार्य सही भएन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र पर्यटनमन्त्री बद्री पाण्डेलाई पनि सैन्य परेडमा सहभागी हुने प्रतिनिधिमण्डलमा सहभागी गराएका छन् । ‘प्रधानमन्त्रीले जापानविरुद्ध युद्धस्मृतिको चिनियाँ सैन्य परेडमा कांग्रेस पनि साथमा छ भन्ने सन्देश दिन उहाँहरूलाई लिएर जान लाग्नुभएको छ । यसको कूटनीतिक मूल्य देशले कति चुकाउनुपर्छ भन्ने कुरा कांग्रेसले नसोच्नु दुर्भाग्यपूर्ण छ,’ कांग्रेसकै एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भने चीन भ्रमणमा नजाने भएकी छिन् । – नयाँ पत्रिकाबाट ।





















प्रतिक्रिया