ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम ल्याएको महानगरले जनाएको छ।
ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरुवात गरेको हो ।
उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले विद्यालयको नजिक रहेका वा पायक पर्ने स्थानमा रहेका सम्पदाको सरसफाइ गर्ने, संरक्षण गर्ने काम गर्छन् ।
महानगरभित्रका ढुंगेधाराहरु, पाटी (फल्चा), बौद्ध विहारहरू, मठमन्दिर, बौद्धस्तुपा , प्रमुख पोखरीको संरक्षण र सरसफाइमा विद्यार्थी जुट्ने छन् । महानगर प्रमुख चिरीबाबु महर्जनले यो महानगरको ‘ड्रिम प्रोजेक्ट’ भएको बताए ।
विद्यार्थीको लागि यो पढाईको प्रयोगात्मक कक्षा भएको बताउँदै भने, ‘यो कार्यक्रम विद्यार्थीलाई जानकारी र संरक्षण दुवैको बारेमा ज्ञान दिन ल्याएका हौँ, आफूले संरक्षण गरेको कुराको माया लाग्छ, यसले जीवनपर्यन्त संरक्षणमा चासो र चिन्तन गर्न सहयोग गर्छ ।
यो कार्यक्रम महानगरभित्र २९ वटै वडामा सञ्चालन गरिएको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमका अनुगमनका लागि पाँच सदस्यीय तीनवटा अनुगमन समितिको समेत गठन गरिएको छ ।




















प्रतिक्रिया