मकवानपुर । बागमती प्रदेश सरकारले विस्का जात्रा ‘जिब्रो छेड्ने’ जात्रा प्रवर्द्धनका लागि जिब्रो छेड्नेलाई उपचार सहायता रकम उपलब्ध गराउने भएको छ ।
भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ‘जिब्रो छेड्ने जात्रा’को संरक्षणका लागि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई स्वास्थ्य उपचार तथा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको सङ्ख्या कम हुँदै गएको र निकट भविष्यमा यो जात्रा लोप हुन सक्ने खतरा रहेकाले प्रोत्साहन उपलब्ध गराउने निर्णय गरिएको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिए । ऐतिहासिक जात्रालाई लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न मन्त्रालयले उक्त निर्णय गरेको उनले बताए ।
मन्त्रालयको निर्णय अनुसार, भक्तपुरमा वर्षमा २ पटक आयोजना हुने ‘येंया पन्हीया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ मा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई उक्त प्रोत्साहन रकम प्रदान गरिनेछ । सो रकम व्यक्तिको स्वास्थ्य उपचार तथा परम्परालाई निरन्तरता दिए बापत प्रोत्साहनका लागि उपलब्ध उनले बताए ।
सो कार्यक्रमका लागि चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिए बमोजिम २ लाख रुपैयाँ उपलब्ध गराउने उनले बताए । मन्त्री श्रेष्ठका अनुसार प्राचीनकादेखि चल्दै आएको यो जात्राले देशमा रोग व्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास रहिआएको छ ।




















प्रतिक्रिया