Logo

खेलकुद

एएफसी यू–२३ एसियन कप छनोट : पहिलो खेलमा नेपालको फराकिलो हार



काठमाडौं । एएफसी यू–२३ एसियन कप क्वालिफायरमा नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को फराकिलो हार बेहोरेको छ ।

बुधबार ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल बेहोरेको हो ।

घरेलु टिमका मोहम्मद अली अजिजबोउभले दुई गोल गरे । यस्तै, रहमतजोदा रहमतसोह र सारिपोभ डालेरले समान एक गोल गरे ।

खेलको ३९औँ मिनेटमा अजिजबोउभको गोलमा ताजिकिस्तानले अग्रता बनाएको थियो । जसलाई ५८औँ मिनेटमा उनैले दोब्बर बनाए ।

खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी हुँदा रहमतसोहले घरेलु टिमबाट तेस्रो गोल गरे । यस्तै, इन्जुरी सयममा डालेरले गोल गरेपछि ताजिकिस्तानले सहज जित पक्का गरेको हो ।

प्रतियोगिताको समूह ‘के’मा रहेको नेपालको यो पहिलो खेल हो । नेपालको समूहमा ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्स छन् ।

आजको खेलमा नेपाली टिम नियमित कप्तान आयुश घलानबिनै मैदान उत्रिएको थियो । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गत बंगलादेशसँगको खेलमा रातो कार्डको दर्शन गरेका कारण आयुश आजको खेलका निम्ति निलम्बित थिए ।

प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने यू–२३ एसियन कपको सातौँ संस्करणमा स्थान बनाउनेछ । यस्तै, कुल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले साउदी अरेबियाको टिकट काट्नेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ०८:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।