Logo

प्रमुख समाचार

सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता भएका छौँ : राकुटेन भाइबर



काठमाडौं । राकुटेन भाइबरले सरकारको नियमअनुसार सन् २०२४ को सुरुआतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गरेर आफू सुरक्षित रहेको बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपालमा दशकभन्दा बढी समयदेखि सेवा दिँदै आएको र सरकारले पछिल्लो पटक ल्याएको निर्देशिका पालना गरेको बताएको छ ।

कम्पनीको सेवाले आफ्ना परिवार र साथीहरूसँगका अमूल्य क्षणहरू सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि एउटै थलोमा सहज वातावरण उपलब्ध गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दा विश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक भएको पनि कम्पनीको दाबी छ ।

डेटा गोपनीयतालाई विशेष प्राथमिकता दिँदै भाइबरले एन्ड–टु–एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन सुविधा उपलब्ध गराएको पनि उल्लेख छ । सुपर एपको रूपमा भाइबर केवल मेसेजिङ वा कलमै मात्र सीमित नरहेको पनि बताइएको छ ।

यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उपयोगी सेवाहरू प्रदान गरिरहेको र प्रयोगकर्ताले यसै प्लेटफर्मभित्र पब्लिक च्यानलहरू मार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्डसम्बन्धी अपडेटहरू पनि पाउन सक्नेछन् ।

भाइबर नेपालमा सुरुआतीकालमै उपलब्ध भएका सञ्चार एपहरूमध्ये एक भएको र यसले नेपाली भाषाका स्टिकर र स्थानीय सामग्रीहरू उपलब्ध गराउँदै डिजिटल सञ्चारलाई अझै व्यक्तिगत र आत्मीय बनाएको विज्ञप्तिमा उल्लेख छ ।

राकुटेन भाइबर संसारकै सबैभन्दा विश्वासिलो र बढी डाउनलोड भएका एपहरूमध्ये एक भएको कम्पनीको दाबी छ । राकुटेन भाइबर, राकुटेन ग्रुप आईएनसीको हिस्सा हो । यो कम्पनीले विश्वव्यापी रूपमा ई–कमर्स, फिनटेक, डिजिटल कन्टेन्ट र सञ्चार सेवामा अग्रणी प्रविधि कम्पनीको रुपमा आफूलाई परिचित दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार २१:०९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।