काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भइरहेको जेनजी (Gen Z) युवाहरूको प्रदर्शनमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालयको व्यवस्था गरेको छ ।
प्रदर्शनमा सहभागीहरूलाई सहजता होस् भन्ने उद्देश्यले महानगरले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखेको हो । प्रदर्शनस्थलमा सहभागी युवाहरू राष्ट्रिय झण्डासहित राष्ट्रभक्ति गीत गाउँदै, भ्रष्टाचार र बेथितिविरुद्ध नारा लगाउँदै जुटेका छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा प्लेकार्डमा लेखिएका छन् । कतिपय स्कुल–कलेज ड्रेसमा सहभागी भएका छन् ।
प्रदर्शन राजनीतिक दलबाट स्वतन्त्र राखिएको छ भने सहभागीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, शान्तिपूर्ण तरिकाले विरोध जनाउने प्रतिबद्धता गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले पनि प्रदर्शनप्रति समर्थन जनाएका छन् । राजधानीसँगै रुपन्देही, दाङ लगायतका जिल्लाहरूमा पनि यस्तै प्रदर्शनहरू भइरहेको छ । सुरक्षाको दृष्टिले प्रदर्शनस्थलमा प्रहरी परिचालन गरिएको छ ।




















प्रतिक्रिया