१५ देखि २८ वर्ष उमेर समूहका युवाहरू अर्थात् जेनजीको दुई दिनको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न बाध्य मात्रै बनाएन, राज्यका तीनवटै अंग कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाका सचिवालयहरूलाई आगो लगाएर ध्वस्त बनाइदियो ।
नेपालका इतिहासमा अनेकपटक सत्तापलटहरू भए पनि यसरी सम्पूर्ण राज्य संयन्त्रमाथि कसैले कब्जा जमाएको यो नै पहिलोपटक हो ।
आजसम्म दुई दिनको आन्दोलनमा पहिलो दिन राज्यले गैरकानुनी रूपमा र अत्यन्तै असंवेदनशील ढंगले कम्तीमा १९ जना युवा विद्यार्थीको हत्या गरिदिएपछि दोस्रो दिन राजधानीलगायत देशका अधिकांश सहरका सरकारी तथा निजी सम्पत्तिमाथि युवाहरूले ठूलो क्षति पुर्याए ।
प्रधानमन्त्री, मन्त्री तथा नेताहरूका घरमा आगजनी तथा व्यक्तिगत आक्रमणमा समेत आन्दोलनकारीहरू उत्रेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो । तर, यसको निकाश के त भन्नेमा भने अझै पनि अन्योल छ ।
आन्दोलनको बलमा सरकार बनेपछिको अहिलेको परिस्थितिमा संवैधानिक रिक्तताको अवस्था छ । आन्दोलनकारीहरू र नागरिक समाजबाट पनि शक्तिशाली नागरिक सरकारको माग भइरहेको छ । त्यसका लागि संसद् विघटनको माग पनि आन्दोलनकारीहरूले गरेका छन् ।





















प्रतिक्रिया