Logo

पत्रपत्रिका

सुशीला कार्कीलाई सिफारिस गरेको ‘जेन–जी लेट मुभमेन्ट’को कार्ययोजना



अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई सिफारिस गरेको ‘जेन–जी लेट मुभमेन्ट’ले संसद् विघटन, अन्तरिम सरकार गठन र संविधानमा व्यापक संशोधनसहितका प्रारम्भिक कार्ययोजना ल्याएको छ । प्रधानसेनापतिसँग जंगी अड्डामा छलफल गरेपछि बाहिरिएका ‘जेन–जी लेट मुभमेन्ट’का प्रतिनिधिले जेन–जी समूह र उपसमूहमा भएको अनलाइन भोटिङमा सुशीला कार्कीको नाम प्रस्ताव गरिएकोसमेत बताए ।

‘जेन–जी लेट मुभमेन्ट’ले ‘संसद् विघटनको पूर्वसर्त कार्यान्वयन गर्दै सबै समूह र उपसमूहसँग वार्ता गर्ने, वार्तापश्चात् राष्ट्रपतिबाट संसद् विघटन गरी निश्चित समयावधिका लागि जेन–जीको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निश्चित समयावधि तोकेर तत्काल अन्तरिम सरकार घोषणा गर्ने’ प्रस्ताव गरेको छ ।

यस्तै ‘जेन–जी लेट मुभमेन्ट’ले जेन–जी नेतृत्वको सरकार नै आन्दोलनको मूल मर्म रहेको भन्दै ‘त्यसका लागि देश–विदेशमा रहेर आन्दोलन गर्ने सबै जेन–जीको राष्ट्रव्यापी सम्मेलनबाट चयन हुने नेतृत्वलाई तत्कालीन अन्तरिम सरकारले जेन–जी लेट अन्तरिम सरकार हस्तान्तरण गर्ने’ कार्ययोजना प्रस्ताव गरेको छ । यसका लागि स्पष्ट कार्ययोजनाको मस्यौदा बनाउने ‘जेन–जी लेट मुभमेन्ट’को भनाइ छ ।

यसबाहेक ‘निवर्तमान प्रधानमन्त्री केपी ओलीसहित सम्पूर्ण दलका नेताहरू तथा सबै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा सबै दलका नेतालाई फौजदारी अपराधमा कारबाही गर्ने’ उनीहरूको भनाइ छ । ‘संविधानमा व्यापक संशोधन गर्ने र संविधानले सुरक्षित गरेको जनताको सार्वभौमसत्तामाथि कुनै प्रकारको हस्तक्षेप अस्वीकार गर्ने’ उक्त समूहको भनाइ छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ०८:३२   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।