Logo

प्रमुख समाचार

रास्वपाले जारि गर्‍यो तीन बुँदे प्रस्ताव (प्रस्तावसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ ।

रास्वपाले बिहीबार तीनबुँदे प्रस्ताव जारी गर्दै नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यता कसैसँग कहिल्यै सम्झौना नगर्ने स्पष्ट पारेको हो ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालका नाममा जारी प्रस्तावमा राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिनुपर्नेमा जोड दिइएको छ ।

यस्तो छ तीनबुँदे प्रस्ताव

१. सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ । सो उमेदवारले बृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा राख्दछ ।

२. नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दछ । संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूप पछि संशोधनीय) राष्ट्रिय .सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ ।

३. सम्माननीय राष्ट्रपतिज्यूको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा राख्दै संविधानको व्यापक संशोधन, २०८२ भदौ २३ को आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात् भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरुमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोगहरुको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन आव्हान गर्दछ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार २२:०८   :  बजे

459
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।