Logo

प्रमुख समाचार

२१ फागुनमा घोषित निर्वाचनमा एमाले र माओवादीको समर्थन



काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अन्यौलताबीच नेकपा एमाले र नेकपा माओवादी केन्द्रले फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचनलाई समर्थन गर्दै समयमै चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तोकिएको मितिमा निर्वाचन गराउन शान्ति–सुरक्षाको वातावरण बनाउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

उनले यो अन्तरिम सरकारको मुख्य कर्तव्य निर्वाचन गराउनु रहेको बताउँदै सबै लोकतान्त्रिक दलहरूले जनताको अभिमत लिन निर्वाचनमा जानुपर्ने बताएका छन् । सडक आन्दोलनबाट सधैँ जनमत प्राप्त गर्न नसकिने भन्दै उनले सङ्क्रमणकालीन राजनीतिलाई निर्वाचनबाटै निकास दिनुपर्नेमा जोड दिए ।

यसअघि, एमालेसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिई संसद् बैठक बोलाउन माग गरेका थिए ।

महासचिव पोखरेलको पछिल्लो अभिव्यक्तिले एमाले निर्वाचनको पक्षमा रहेको देखिएको हो । यसैबीच, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि जेन–जी आन्दोलनको उपलब्धिलाई जोगाउँदै अन्तरिम सरकारलाई सहयोग गरी तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आगजनीबाट क्षतिग्रस्त संरचना अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सबै दल एकजुट भएर छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गर्नुपर्छ ।

यदि यो सरकार असफल भयो र निर्वाचन समयमा भएन भने देश भयावह सङ्कटमा फस्न सक्छ ।’ श्रेष्ठले जेन(जीको प्रस्तावमा दलहरूको सहमतिमा अन्तरिम सरकार गठन गर्ने प्रयास असफल भएको बताए । ‘संवैधानिक र विधिसम्मत ढङ्गले सरकार गठन गर्न खोजेका थियौँ, तर राष्ट्रपतिले धारा ६१ अनुसार अन्तरिम सरकार गठन गर्नुभएको छ । अब सबैले एकजुट भएर निर्वाचनको बाटोमा अघि बढ्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार २१:२४   :  बजे

606
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।