Logo

अन्तर्राष्ट्रिय

दोहामा ५० मुस्लिम राष्ट्र इजरायलविरुद्ध एकजुट



इजरायलविरुद्ध विशेष बैठकका लागि ५० मुस्लिम राष्ट्रका नेताहरू कतारको राजधानी दोहामा भेला भएका छन् । यो बैठक अरब लिग र इस्लामिक सहयोग संगठन (ओआईसी)ले बोलाएको हो ।

बैठकको मुख्य उद्देश्य सेप्टेम्बर ९ मा कतारमा भएको इजरायली आक्रमणको जवाफ दिनु रहेको अलजजिराले बताएको छ ।

उक्त आक्रमणमा हमासका पाँच सदस्य र एक कतारी सुरक्षा अधिकारीको मृत्यु भएको थियो । यो हमला हमासको टोली गाजामा दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी प्रस्तावबारे छलफल गर्न दोहामा रहेका बेला भएको थियो ।

बैठकअघि इरानका राष्ट्रपति मसूद पजश्कियानले मुस्लिम राष्ट्रहरूलाई इजरायलसँगको सम्बन्ध तोड्न आग्रह गरेका छन् । उनले इस्लामिक राष्ट्रहरूलाई एकजुट हुन पनि आह्वान गरेका छन् ।

यता, पाकिस्तानले सबै मुस्लिम राष्ट्रहरूलाई ‘नेटो’जस्तो संयुक्त सैन्य बल (ज्वाइन्ट फोर्स) बनाउन सुझाव दिएको छ ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले पनि इजरायलविरुद्ध जवाफी कारबाही आवश्यक रहेको चेतावनी दिँदै गाजाको युद्धबाट कुनै पनि देश बच्न नसक्ने बताएका छन् ।

शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै कतारका अमीर शेख तमिम बिन हमाद अल–थानीले इजरायलले मानवताविरुद्धका अपराधमा सबै सीमा पार गरेको बताए । उनले मध्यस्थकर्ताको रूपमा शान्तिका लागि गम्भीर प्रयास गरिरहेको कतारको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि समेत इजरायलले आक्रमण गरेको बताए ।

त्यस्तै, मुस्लिम राष्ट्रका नेताहरूले इजरायललाई संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन गरेकोमा दोषी ठहर गर्दै त्यसको हमला रोक्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले संयुक्त राष्ट्रसंघमा इजरायलको सदस्यता निलम्बन गर्न माग गर्दै ‘दुई–राष्ट्र समाधान’को दिशामा काम गर्नुपर्ने बताए ।

अरब लिगका महासचिव अहमद अबुल गेतले इजरायली आतंकवादले स्थिति झन् खराब बनाएको र प्यालेस्टिनीहरूको नरसंहारविरुद्ध आवाज उठाउनु जिम्मेवारी भएको बताए ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले इजरायलको अत्याचार, भोकमरी र ध्वस्त भएको पूर्वाधारले गाजामा जीवन असह्य बनाएको बताए । उनका अनुसार इजरायली कार्यहरूले सामूहिक सुरक्षाका लागि खतरा पैदा गरेको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सीसीले इजरायलले जानीबुझी नै शान्ति भंग गर्न खोजिरहेको बताए ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टिनी राज्यको स्थापना नै शान्तिको एकमात्र बाटो भएको बताए ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले कतारसँग पूर्ण ऐक्यबद्धता जनाउँदै इजरायलको बढ्दो हमलाले क्षेत्रको सुरक्षालाई खतरामा पारेको बताए ।

यसअघि आइतबार मुस्लिम राष्ट्रका विदेश मन्त्रीहरूले दोहामा इजरायलविरुद्ध कस्तो कारबाही गर्ने भन्नेबारे गोप्य कोठामा बैठक गरेका थिए ।

उक्त बैठकमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीले इजरायली हमलाको कडा निन्दा गर्दै कतारले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आवश्यक कदम चाल्ने बताए । अलजजिरा

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ०९:०६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।