काठमाडौं । एनआईसी एशिया बैंकका विवादित प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेले राजीनामा दिएसँगै बैंकको नेतृत्व थप संकट छ।
बैँक संचालक र सिइओ न्यौपानेबीच लामो समयदेखिको मनमुटावपछि उनले आज राजिनामा बुझाएका छन्। उनको राजिनामापछि डेपुटी सिईओ सन्तोषकुमार राठीले कामु सिईओ जिम्मेवारी सम्हालेका छन्।
सिईओको राजिनासँगै नेपाली बैंकिङ क्षेत्रमै विवादास्पद मानिने ज्ञानेन्द्र ढुङ्गाना फेरि चर्चामा आएका छन्। नेपाल बंगलादेश बैंक डुबाएको, सिईओ बन्ने लालचामा एनबी बैंक गाभेर नबिल बैंकलाई खराब कर्जाको दलदलमा फँसाएको तथा व्यक्तिगत स्वार्थका लागि संस्थागत सम्पत्ति बेचेको आरोप खेपिरहेका ढुङ्गाना मौकाको फाइदा उठाउँदै एनआईसी एशिया बैंक छिर्ने दाउमा रहेको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टी सुरु भएको छ।
ढुङ्गानाले बैंकिङ क्षेत्रमा लामो समय बिताएका छन्। तर उनको करियर विवाद रहित छैन । उनी नबिल बैंकमा जागिर छोडेर गभर्नर बन्ने मोहमा प्रवेश गरेका थिए। तर, तत्कालीन ओली नेतृत्वको गठबन्धन सरकारले समेत उनको विवादित ट्र्याक रेकर्डका कारण विश्वास नगरेपछि गभर्नरको रेसमै परेनन् । यसले उनको महत्वाकांक्षी योजनालाई ठुलो धक्का दियो।
ढुङ्गाना नेपाल बंगलादेश बैंकका नेतृत्वमा रहँदा बैंकलाई आर्थिक संकटतर्फ धकेलेको लगानीकर्ताहरुकै आरोप छ । व्यक्तिगत मनोमानीकै कारण अन्ततः उक्त बैंकलाई नबिल बैंकमा गाभ्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो थियो। यसबाट साधारण सेयरधनीले ठुलो घाटा बेहोर्नुपरेको थियो।
त्यसपछि पनि नबिल बैंकको प्रमुख रहेका बेला संस्थागत सम्पत्तिहरू व्यक्तिगत स्वार्थमा कौडीको मूल्यमा उपलब्ध गराएको र बैंकलाई खराब कर्जाको चपेटामा पुर्याएको भन्दै उनीविरुद्ध चौर्तर्फी आलोचना भएको थियो।
त्यतिमात्र होइन, बैंकभित्र उनको ठाडो तथा रुखो शैली, अहंकारपूर्ण व्यवहार र सहकर्मीहरूसँग गर्ने हेपाहा प्रवृत्तिले पनि संस्थागत संस्कृतिलाई कमजोर बनाएको कर्मचारीहरूको तितो अनुभव छ । जसका कारणले ढुङ्गानालाई नेपालकै वित्तीय क्षेत्रमा ‘विवादित पात्र’को रूपमा चिनिन्छ।
किन छिर्दैछन् एनआईसी ?
न्यौपानेको राजीनामापछि उत्पन्न नेतृत्व संकटलाई अवसरका रूपमा लिँदै ढुङ्गानाले एनआईसी एशिया बैंकमा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ। स्रोतका अनुसार उनले संचालन समितिका सदस्यहरूसँग न्यौपानेले नाजुक बनाएको बैंकलाई ‘नम्बर वान’ बनाइदिने भन्दै आश्वासन दिइरहेका छन्। तर, उनको यो वाचा पछाडि अन्ततः एनआईसीलाई नबिल बैंकमा गाभ्ने रणनीति रहेको बताइन्छ। ढुङ्गाना नबिलका मेजर शेयरधनी बिनोद चौधरीका विश्वासपात्र मानिन्छन्।
उनले आफूसँगै नबिल बैंकका डेपुटी सिईओ सुजित साक्यलाई समेत फकाइरहेको खबर आएको छ। यसरी पुरानो टीमसहित बैंकमा प्रवेश गर्ने योजना सफल भएमा एनआईसी एशिया भित्र नै फरक खेमाको राजनीति र विवाद चर्किन सक्ने देखिन्छ।
एनआईसी बैंकका कर्मचारीवृत्तमा असन्तुष्टि
एनआईसी एशिया बैंक हालैको नेतृत्व संकटले नैतिक र संस्थागत स्तरमा कमजोर बनेको छ। यसै बेला ढुङ्गाना जस्तो विवादित पात्र प्रवेश गरेमा बैंकको विश्वसनीयता थप घट्ने र सेयरधनी तथा ग्राहकबीच अनिश्चितताको वातावरण सिर्जना हुने प्रबल सम्भावना छ।
नेपालको बैंकिङ इतिहासमै विवादास्पद भूमिकाका कारण आलोचित ढुङ्गाना एनआईसीमा प्रवेश गरेमा व्यवस्थापनमा स्थिरता भन्दा बढी किचलो बढ्ने अनुमान गरिएको छ। यसले बैंकको नाफा, कर्जा प्रवाह, शेयर मूल्यदेखि समग्र बजारको विश्वासमा नकारात्मक असर पार्न सक्छ।
विशेषज्ञहरूले पनि ढुङ्गानाको ट्र्याक रेकर्ड हेर्दा उनको एनआईसी प्रवेश कुनै समाधान नभई उल्टै संकट डाक्ने चेतावनी दिएका छन्। उनी भित्रिएपछि बैंकभित्र शक्ति संघर्ष बढ्ने, संचालन समितिमा विभाजन हुने र कर्मचारी मनोबल कमजोर हुने चिन्ता व्यक्त गरिएको छ।
न्यौपानेको राजिनामापछि जिम्मेवारी राठीको काँधमा छ तर बाहिरका व्यक्ति सिईओ नियुक्त गर्ने भन्ने हल्लासँगै एनआईसी एशिया बैंकको व्यवस्थापन अहिले अनिश्चित दिशामा उभिएको छ।
ढुङ्गाना जस्तो विवादास्पद व्यक्तित्वलाई नेतृत्वमा ल्याउने प्रयास सफल भएमा बैंकभित्रको संकट अझ गहिरिने उनीसँगै काम गरेका बैंकरहरु बताउँछन्। यद्यपि सेयरधनी, नियामक निकाय र ग्राहकले भने एनआईसी एशिया बैंक संचालन समितिले अबको कदम दीर्घकालीन तथा स्थायित्वकै रणनीति अनुसार नै लिने बताइएको छ।





















प्रतिक्रिया