काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मङ्गलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अन्तरिम सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै छठ पर्वलगत्तै आन्दोलन सुरु गर्ने बताएका हुन् ।
“हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात, बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ,” प्रसाईँले भने, “पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन।”
प्रसाईँले सामाजिक सञ्जालमा मात्रै स्ट्याटस लेखेर सीमित नहुने स्पष्ट पार्दै आफूहरू प्रत्यक्ष सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिए । “अब कोठाभित्र बसेर फेसबुकमा स्ट्याटस लेख्ने होइन, आन्दोलनको नेतृत्व हामी आफैँ लिन्छौँ,” उनले भने, “देशमा २०४७ सालको संविधान पुनर्स्थापनाका लागि पनि हामी लड्छौँ।”
प्रसाईँको भनाइ अनुसार आन्दोलनको मुख्य माग हिन्दु राष्ट्रको पुनर्स्थापना, वैदिक सनातन मूल्यको संरक्षण र २०४७ सालको संविधान पुनरागमन रहनेछ।




















प्रतिक्रिया