Logo

स्वास्थ्य

कोरोना सङ्क्रमितको उपचारमा रोबोट नर्सि परिचालन



मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो नगर क्षेत्रमा कोरोना रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयु तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उहाँले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको जानकारी दिनुभयो । राबोटमार्फत सेवा दिने यो नेपाल कै पहिलो अस्पताल हुने जानकारी दिँदै उहाँले नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने जानकारी दिनुभयो ।

नगरपालिकाले आफ्नै पिसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ । भदौ महिनाको २४ गतेसम्ममा दुई हजार ११२ को परीक्षण गरेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले हालसम्म ३२७ जनालाई कोरोना भएको, ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १७१ जना होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।

नगरपालिकाले ८५ शय्याको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेसन, आठ वटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखेको जानकारी दिँदै उहाँले मिर्र्गौलाका बिरामीलाई लक्ष्य गर्दै एक शय्याको डायलाइसिस र मेसिन तयारी अवस्थामा राखेको बताउनुभयो । नगरपालिकाले अस्पताल नजिकैको एक गेस्टहाउसमा बनाएको क्वारेन्टिनमा गत चैतदेखि १०० भन्दा बढी शङ्कास्पदलाई राखिसकेको छ । नगरपालिकाले अहिलेसम्म सरकारसँग पिसीआर परीक्षणको किट लिएको छैन भने नगरपालिका आफैँले खरिद एवं व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ५ : ४८ बजे