दुई दिनमै लेक लागेर मनाङ र मुस्ताङमा चार जनाको मृत्यु भएको छ । कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको हो ।
यस्तै, एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बंगालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले आगामी मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा/हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सो सम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पर्वतारोहण, पदयात्रा लगायतका उद्देश्यले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किरहेको सन्दर्भमा उल्लिखित मौसम पूर्वानुमान र लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको प्राधिकरणले जनाएको छ ।


















प्रतिक्रिया