काठमाडौं । कीर्तिमानी ब्याटिङ गरेको विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको सहज जित निकालेको छ ।
मंगलबार लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा विराटनगरले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १८.५ ओभरमा सबै विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो ।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ३१ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।
यस्तै, एडम रोसिङ्टनले २१ बलमा पाँच चौका र दुई छक्कासहित ३९ रन थपे । १२–१ को स्थितिबाट यी दुईले दोस्रो विकेटका निम्ति ३२ बलमा ७६ रनको विस्फोटक साझेदारी गर्दै पोखराको इनिङ सम्हाल्ने प्रयास गरे ।
तर, ६.६ ओभरमा रोसिङ्टन पवेलियन फर्किएपछि पोखराको लयमा ‘ब्रेक’ लाग्यो । पोखराबाट दोहोरो अंकमा रन जोड्नेमा डान डाउथवेट र अभिषेक तिवारी रहे ।
यी दुईले क्रमशः २९ र ११ रन थपे । यसबाहेक, पोखराका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका जिम्मी निसम ‘गोल्डेन डक’ भए । तीर्थराज दास ‘डक’ भए ।
पोखरालाई १६७ रनमा रोक्न विराटनगरका मर्चेन्ट डे लांगे, कप्तान सन्दीप लामिछाने, शुभम रञ्जाने र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए ।
रञ्जानेले ६.६ ओभरमा रोसिङ्टनको विकेट लिनु र त्यसपछिको दुई ओभरमा सन्दीपले निसम र तीर्थको विकेट लिनु खेलको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।




















प्रतिक्रिया