Logo

अर्थ

व्यापार सहजीकरण एवं हवाईसेवा विस्तारका लागि चेम्बरद्धारा श्रीलङ्काका राजदूतसँग छलफल



काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ ।

नेपाल र श्रीलङबीच कुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको थियो ।

राजदूूत डेल्पितीयासँग चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार वार्षिक औषतमा मुुस्किलले २.५ मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए । नेपालले १.४० मिलियन अमेरिकी डलर बराबरको वस्तु आयात गर्दा ०.७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए ।

दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृषि तथा जलविद्युत, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो ।

चेम्बरले सातामा कम्तिमा एउटा उडान श्रीलङका–लुम्विनी एवं लुम्विनी श्रीलङका सीधा हवाई सेवा संचालन गरेर पर्यटकहरु आर्कषित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलङकका बौद्ध धर्मावलम्वीहरुलाई नेपालमा आर्कषित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।

यस्तै श्रीलङका भ्रमणका लागि जाने नेपाली पर्यटकहरुलाई फ्रि भिषाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसंग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफुले पहल गरिरहेको बताए । श्रीलंकामा आगामी जुनमा हुने अन्तराष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारी समक्ष उनले आग्रह गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १६:४८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।