काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्षौंदेखि विदेशमा अवैध रुपमा कम्पनी खोली हुण्डीमार्फत् कारोबार गर्दै आएको तथ्य भेटिएको छ । अध्यक्ष ढकालले भाई हेमराज ढकाल तथा अन्य कर्मचारीसँगै तिनका श्रीमतीका नाममा समेत कम्पनी खडा गरी नेपालबाट अर्बौं रुपैयाँ अवैध रुपमा विदेश पठाइ लगानी गरेको तथ्य भेटिएको हो ।

विदेशी विनिमय ऐन २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमका लगानी गर्न प्रतिबन्ध लगाइएको छ। नियमअनुसार नेपाली नागरिकले विदेशमा लगानी गर्न पाईदैन।

नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म भने त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था छ। यसरी लगानी गरेको विदेशी विनिमयको पनि नेपालमा फर्किएको ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्छ।
नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने कानुनी व्यवस्था छ।
तर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका प्रतिष्ठित व्यापारी चन्द्र प्रसाद ढकालले प्रचलित कानुनको बर्खिलाप सन् २००२ अगस्ट २ मा बेलायतमा सनबर्ड कम्प्युटर कन्सल्टेन्ट लिमिटेड नामक कम्पनी खोली अवैध रुपमा कारोबार गर्दै आएका छन्। सन् २००१ देखि नेपालमा आईएमई रेमिट संचालन गरेका ढकालले एक बर्षमै अर्बौं रुपैयाँ रकम अवैध रुपमा विदेशमा पठाएको देखिन्छ।
ढकालले बेलायतमा ‘कन्सल्टेन्ट’ कम्पनी खोलेको १९ दिन अर्थात् २१ अगस्ट २००२ मा उक्त कम्पनीको नाम परिवर्तन गरेका छन्। सनबर्ड कम्प्युटर कन्सल्टेन्ट लिमिटेडको नाम परिवर्तन गरी उनले इन्टरनेसनल मनी एक्सप्रेस आईएमइ लिमिटेड बनाएका छन्। जसमा ढकालले यसअघि नै मलेसियामा र नेपालमा सोहि नामबाट कम्पनी रहेको लिखितरुपमा जनाएका छन्। यसमा ढकालले बेलायतमा मात्र नभई मलेसियामा समेत कम्पनी खोलेको बिषय आँफैले प्रस्ट्याएका छन्।
८ बर्षपछि स्वामित्व चेन्ज, हेमराजको इन्ट्री
नेपालमा रेमिट्यान्स कारोबार फस्टाउँदै गएपछि ढकालले उक्त कम्पनीको मेजर स्वामित्व भाई हेमराज ढकालको नाममा हस्तान्तरण गरेका छन्। जसअनुसार उनले भाई हेमराज ढकाललाई सन् २००९ मार्च ३० मा डाइरेक्टर नियुक्त गरी उनका आफन्त कमल पौडेललाई कम्पनी सचिव बनाउँछन्। जसमा ढकाल लगायत सबै नेपाली नागरिक नै भएको उल्लेख गरिएको छ भने पेशामा व्यवसाय तथा कन्सल्टेन्ट देखाइएको छ। तर, ढकाल लगायत सबैको संचालकको ठेगाना भने संयुक्त राज्य अमेरिका रहेको झुटा विवरण पेश गरिएको छ।
ढकालले सन् २००९ मार्च ३१ मा बेलायतमा रहेको इन्टरनेसनल मनी एक्सप्रेस आईएमइ लिमिटेडको शेयर बाँडफाँड गरेका छन्। कम्पनीको सेयर पुँजी १ हजार पाउन्डस्टर्लिङको एक हजार कित्ता उल्लेख भएअनुसार १ लाख पाउण्ड (बोनस शेयरसहित) कित्ता शेयरमध्य उनले भाई हेमराजका नाममा ७५ हजार कित्ता, कमल पौडेलका नाममा २४ हजार कित्ता र अध्यक्ष ढकाल स्वयमका नाममा ९ सय उनान्सय कित्ता शेयर मात्र राखेर ८ वर्षपछि उनी कम्पनीबाट बाहिरिए। यस अवधिमा ढकालले अर्बौको व्यापार गरेको उक्त कम्पनीसँग सहकार्य गर्ने कम्पनीका वासलातहरुले देखाएको छ।
ढकालले कम्पनी दर्ता गर्दाका समयमा कम्पनीको सेयर पुँजी १ हजार पाउन्डस्टर्लिङ र प्रतिसेयर मूल्य १ पाउन्डस्टर्लिङका दरले एक हजार कित्ता रहने उल्लेख गरेका थिए। तर, कम्पनीको नाम परिवर्तन गरेपछि उनले अधिकृत पुँजी एक हजार पाउन्डस्टर्लिङ उल्लेख गरी जारी पुँजी भने एक पाउन्डस्टर्लिङ मात्रै भएको बेलायतको कम्पनीको विवरण अद्यावधिक गर्ने सरकारी वेबसाइटमै देखिन्छ।

कारोबार अर्बौंको, कम्पनी घाटामा
बेलायती सरकारी कार्यालयको वेबसाइटअनुसार सन् २००४ अप्रिलमा मात्र कम्पनीको फर्स्ट अडिट गरी अद्यावधिक गरिएको छ । जसमा तलब, ज्याला, भाडा, बीमा र विज्ञापनसहित २८ हजार ८८ पाउन्ड स्टर्लिङ कुल कारोबार भएको उल्लेख गरिएको छ । तर, ढकालले कम्पनी घाटामा गएको उल्लेख गरेका छन् ।
प्राप्त विवरण अनुसार सन् २००५ मा उक्त कम्पनीले कुल कारोबार ६३ हजार ४३६ पाउन्डस्टर्लिङ गरेको भेटिएको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ९ हजार ७५८ पाउन्डस्टर्लिङ छ । सन् २००६ मा कम्पनीको बैंक खाता र नगद गरी कुल १६ हजार २१७ पाउन्डस्टर्लिङ पुगेको देखिन्छ भने खुद चालु दायित्व पनि १ हजार ९८८ पाउन्डस्टर्लिङ छ । त्यस्तै, सन् २००७ मा कम्पनीको बैंकमा जम्मा र नगद १८ हजार ८५८ पाउन्डस्टर्लिङ पुगेको देखिन्छ । यस अवधिमा खुद चालु दायित्व ८४२ पाउन्डस्टर्लिङ रहेको प्राप्त विवरणमा उल्लेख छ । तर, यस अवधिमा पनि ढकालले कम्पनीको प्रोफिट एण्ड लसअकाउन्टमा कम्पनीको कारोबार घटेको देखाएका छ।

ढकालले सन् २०१३ जुन मा इन्टरनेसनल मनी एक्सप्रेस आईएमइ लन्डन नामक कम्पनीमा १ लाख पाउण्ड कित्ता शेयरमा ४ लाख कित्ता थपेर ५ लाख ५ लाख पाउन्डस्टर्लिङ बनाउने निर्णय गरे। जसमा हेमराजको ३ लाख ७५ हजार कित्ता र कमल पौडेलको १ लाख २५ हजार कित्ता सेयर बाँडफाँड गरियो । सन् २०१३ अगस्ट २० मा अर्थात् उक्त शेयर सेयर पुँजी वृद्धि गरेको एक महिनापछि नै पुन: सेयर पुँजी वृद्धि गरेर १० लाख कित्ता बनाइयो । जसमा ८ लाख २५ हजार कित्ता हेमराजको नाममा र १ लाख ७५ हजार कित्ता कमलको नाममा कायम गरिएको छ ।
अवैध रुपमा बेलायतमा कम्पनी चलाएको १० वर्षपछि चन्द्र ढकालले सन् २०१० अगस्ट ६ मा ढकालले निर्देशक पदबाट राजीनामा दिए । उनी बाहिरिएसँगै कम्पनीको ५०/५० प्रतिशत सेयर पुँजी क्रमशः भाइ हेमराज र अर्का साझेदार कमलको स्वामित्वमा कायम गरियो । त्यो वर्षको लेखापरीक्षणले कम्पनीको चालु सम्पत्ति १ लाख ४४ हजार ९९४ पाउन्डस्टर्लिङ पुगेको देखाएको छ । सन् २०१२ सम्म पुग्दा कम्पनीको स्थिर पुँजी २ लाख ८ हजार ७५ पाउन्ड स्टर्लिङ बराबर र खुद सम्पत्ति दायित्व १ लाख ४३ हजार ३३४ पाउन्डस्टर्लिङ बराबर पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । ढकालले सन् २०१३ नोभेम्बर १४ मा भाई ढकाल र कम्पनी सचिव पौडेलको संयुक्त स्वामित्वको इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेडको नाम परिवर्तन गरी आईएमई (युके) लिमिटेड बनाएको प्राप्त विवरणमा उल्लेख छ। प्राप्त विवरणअनुसार सन् २०१४ सम्ममा आईएमई (युके) लिमिटेडको नेट बुक भ्यालु १ लाख १० हजार ४६३ र सन् २०१५ मा ७६ हजार ८२९ रहेको छ ।

तेह्र वर्षपछि कम्पनी बिक्री
नेपालमा व्यवसाय फस्टाउन थालेपछि ढकालले बर्षौंदेखि बेलायतमा अवैध रुपमा संचालन गर्दै आएको कम्पनी आईएमई (युके) लिमिटेड सन् २०१५ जुलाई ७ मा रिया फाइनान्सियल सर्भिस लिमिटेडलाई बिक्री गरेका छन्। ढकालले सन् २०१५ अगस्टमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेडका कम्पनी कमल पौडेलकी श्रीमतीको नाममा आईएमइ लिमिटेड लन्डन खोलेको देखिन्छ। तर, २०२३ मा अर्थात् २ वर्ष अघिमात्र उक्त कम्पनीको सम्पूर्ण शेयर स्वामित्व भाई हेमराज ढकालको नाममा सारिएको छ ।
ढकालले कम्पनी बिक्री गरेको जानकारी त्यहाँको शेयर खरिदविक्री गर्ने नियामक निकाय युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा जानकारी गराइएको छ। जसअनुसार उक्त कम्पनी ७६.७ मिलियन डलर नगद तथा ३ मिलियन डलर बराबरको युरो नेटको ४९९४१ कित्ता शेयर लिएर बिक्री गरिएको उल्लेख छ ।

कहाँ गयो ७६.७ मिलियन डलर ?
ढकालका दाजुभाई दुवै नेपाली नागरिक हुन् । नियमअनुसार उनीहरुले विदेशमा लगानी गर्न मिल्दैन। तर, राष्ट्र बैंकलाई समेत प्रभावमा पारी ढकाल दाजुभाईले बर्षौंदेखि विदेशमा लगानी गरेका छन् । बेलायत, अमेरिका, मलेसिया लगायतका देशहरुमा कम्पनी खोली ढकालले बर्षौंदेखि लगानी गर्दै आएको उक्त देशहरुका सरकारी तथ्यांकले नै देखाएको छ। यो सँगै विदेशमा लगानी गर्ने यति ठूलो रकम नेपालबाट कसरी बाहिरियो भन्ने प्रश्न आउँछ। राष्ट्र बैंकको तथ्यांकअनुसार पनि ढकालले राष्ट्र बैंकबाट कुनै पनि समयमा रकम विदेश लैजान तथा विदेशमा कम्पनी खोल्नका लागि अनुमति लिएका छैनन्, अनुमति दिने व्यवस्था पनि छैन। ढकालको यो काम हुण्डीबिना सम्भव नभएको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन्।
त्यस्तै, ढकालले नेपालबाट अवैध तरिकाले विदेशमा लगानी गरिएको रकमबाट आर्जित सम्पतिको लाभकार समेत तिरेको देखिँदैन। सरकारी तथयांकअनुसार पनि विदेशमा लगानी भई कमाएको सम्पति र कम्पनी बिक्री गरेपछि प्राप्त ७६.७ मिलियन डलर नगद कहाँ गयो भन्ने बिषयमा नेपाल सरकार समेत बेखबर देखिन्छ। राजश्व अनुसन्धान विभागमा उनले तिरेको करको विवरणमा समेत यसको दाखिला भएको देखिन्न। जसबाट पनि उक्त रकम अवैध रुपमा हुण्डीमार्फत् नेपाल आएको पुष्टि हुन्छ। साथै, सन् २०१५ जुलाई ७ मा आईएमई (युके) लिमिटेड रिया फाइनान्सियल सर्भिस लिमिटेडलाई बिक्री गरेको केहि समयमै आईएमइ फाइनान्सको पुँजी एक्कासी बढ्नुले पनि उक्त रकम अवैध रुपमा हुण्डीमार्फत् नेपाल ल्याइएको बिषयलाई थप बलियो बनाएको छ।
त्यस्तै, युकेको शेयर खरिदविक्री गर्ने सरकारी निकाय ‘युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन’ कै तथ्यांकअनुसार ढकालले कम्पनी बिक्री गरी कमल पौडेलकी श्रीमतीको नाममा लिएको ३ मिलियन डलर बराबरको ४९ हजार ९ सय ४१ कित्ता शेयर जुन हाल भाई हेमराज ढकालका नाममा आईसकेको छ, राष्ट्र बैंकले त्यसको रिटर्नको समेत खोजी गरेको छैन।


आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’
अर्थमन्त्रीको बुई चढेर व्यवसायी तर्साउँदै चन्द्र ढकाल, ‘एफएनसीसीआई’ को भूमिका शंकास्पद
‘उद्योगीका विरुद्दमा महासंघकै अध्यक्ष, कुलमानसँग कुम मिलाउँदा पंगु बने व्यवसायी’





















प्रतिक्रिया