Logo

अर्थ

आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’



काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडका संचालक तथा कर्मचारीका वित्तीय अपराधमा नियामक निकाय नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीकै संरक्षण रहेको पाईएको छ।

आईएमइ ग्रुप तथा ग्लोबल आईएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत बैंक व्यवस्थापनका कर्मचारीको गलत काम कारबाहीको ढाकछोप गर्दै अपराधलाई प्रोत्साहन तथा अपराधीको संरक्षण गर्न राष्ट्र बैंकका प्रमुख कार्यकारी निर्देशक तथा तत्कालीन नियमन विभागका प्रमुख गुरु पौडेलकै सक्रियता रहेको तथ्य भेटिएको हो।

प्रचलित ऐन, कानून तथा अन्तराष्ट्रिय असल अभ्यास समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको काम कारबाहीलाई निर्देशित गरी निक्षेपकर्ता तथा सम्बद्ध सरोकारवालाहरूको हित संरक्षण गरी वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्न आवश्यक निर्देशनहरू जारी गर्ने काम नियमन विभागको हो । त्यस्तै, नेपाल राष्ट्र बैंक (NRB)देशको बैंकिङ प्रणालीको नियमन, निगरानी, र सुधारका लागि प्रमुख जिम्मेवार निकाय हो।

तर, नातावाद, राजनीतिक पहुँच, तथा दवाव र प्रभावमा परी राष्ट्र बैंकले प्रचलित नियम तथा निर्देशनअनुरुप प्रभावकारी रुपमा कार्यसम्पादन गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको नियामकीय निकायका कर्मचारीदेखि नेपाल राष्ट्र बैंककै गरिमामाथि प्रश्न उठ्न थालेको छ।

नियामकिय निकायको नियमन विभागको जिम्मेवार पदमा रही ‘नातावाद’को आडमा अपराधको ढाकछोप गरेको आरोप प्रमुख कार्यकारी निर्देशक गुरु पौडेलमाथि लागेको छ। राष्ट्र बैंक स्रोतका अनुसार पौडेलले नियमन विभागका रहँदा ग्लोबल आईएमइ बैंक तथा आइएमइ रेमिटका गम्भीर वित्तीय अपराध लुकाउन ठुलो भूमिका खेलेका छन्। जसका कारण बैंकका बदमासी तथा आईएमइ समूहले सुरुवातदेखि गर्दै आएका हुण्डी कारोबारका फाईलमाथि अनुसन्धान हुन सकेको छैन।

पौडेलले किन जोगाउँदैछन् आईएमई समूह ?

गुरु पौडेलकै सिफारिसमा अध्यक्ष ढकालले उनका दाजु नारायण पौडेललाई ४ बर्षका लागि ग्लोबल आईएमइ बैंकको संचालक समिति सदस्य बनाएका छन्। अहिले राष्ट्र बैंकसँग सम्बन्धित बैंकका चासो गुनासो तथा अन्य समस्या ढकालले उनै दाजु मार्फत् गराउने गरेका छन्। राष्ट्र बैंकमा परेका उजुरी, गुनासो तथा अन्य नियामकिय निर्देशनविपरीतका गतिविधीमाथिको कारबाही रोक्ने काम पौडेलमार्फत् हुने गरेको छ। जसका कारण ग्लोबल आईएमइ बैंक तथा तिनका कर्मचारीले जस्तोसुकै अपराध गरेको भए पनि कारबाही गरिएको रेकर्ड छैन।

ग्लोबल आईएमइ बैँकका तथा आईएमइ समूहका गलत कामकारबाहीमाथि राष्ट्र बैंक किन मौन छ ? भन्ने प्रश्नमा, प्रतिप्रश्न गर्दै बैंकका एक अधिकारीले भने – ‘दाजु संचालक भाइ नियामकीय निकायको नेतृत्व’अनि कारबाही कसरी हुन्छ ?’ नुनको बदला गुनले तिर्या होला नि उनले थपे। उनका अनुसार ढकालकी जेठी श्रीमती पौडेल हुन्। गुरु पौडेल ढकालका जेठी श्रीमतीपट्टिका ससुरालीका नाता पर्छन्।

गुरु पौडेलले केहि समय अधि आईएमई समूहका अध्यक्षले प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा स्थानीयको चाहनाविपरीत जबर्जस्ति केबलकार निर्माण गर्न खोजेपछि उत्पन्न विवादका बीचमा पनि उनको बचाउमा आफ्नो निजी धारणा फेसबुकमा सार्वजनिक गर्दै राष्ट्र बैंकको धारणा भन्दै मिथ्या प्रचार गरेपछि विवादमा तानिएका थिए।

सो समयमा ढकालको जबर्जस्तीपछि पाथीभराप्रति आस्था राख्ने स्थानीय लगायत देशभरका जनताले चेतावनीस्वरुप ढकाल नेतृत्वको ग्लोबल आईएमई बैंकबाट धमाधम खाता बन्द गर्ने अभियान चलाए। दैनिक हजारौँ खाता बन्द भए भने अर्बौं रुपैयाँ निक्षेप बाहिरियो । बैँकमा तरलता अभाव हुन थाल्यो। यो नितान्त: आईएमइ समूहका अध्यक्ष ढकालको निजी परियोजना थियो। उनको जबर्जस्तिले पाथिभरा क्षेत्र आक्रान्त बन्यो।

यहीँ आक्रान्त वातावरण र स्थानीय जनातालाई झनै उक्साउने ढंगबाट अध्यक्ष ढकालले आफ्नो स्वार्थअनुकूल नियमन विभागका प्रमुख गुरु पौडेललाई प्रयोग गरी उनको सामाजिक संजालमार्फत् आफ्मो पक्षमा स्टाटस लेख्न लगाए। जसमा ‘ग्लोबल आईएमइ बैँक डुब्दैन, ग्राहकको निक्षेप सुरक्षित छ’ ‘चन्द्र ढकालमाथिको आक्रमण निन्दनीय छ’ भन्ने लगायतका बिषय लेखियो। पौडेलको व्यक्तिगत फेसबुकमा लेखिएको उक्त स्टाटसमा लेखिएका बिषय उनको नितान्त निजी धारणा थिए।

तर, ढकालले सोहि ‘फेसबुक स्टाटस’लाई राष्ट्र बैंकको आधिकारिक धारण, राष्ट्र बैंकले भन्यो, अन्ततः बोल्यो राष्ट्र बैंक भन्नेजस्ता गलत सामाग्री तयार गरी विभिन्न प्रायोजित मिडियामा पठाइ झुटा प्रसार-प्रसार गरियो। कर्मचारीका निजी धारणालाई राष्ट्र बैंकको आधिकारी धारण भन्दै भ्रम सिर्जना गरि ग्राहककलाई समेत झुक्याउने काम गरियो।पौडेलको अभिव्यक्तिपछि नो केबलकार समूह राष्ट्र बैँकमाथि नै आक्रमक बन्यो। यो उनको अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको भन्दै उनकै विरुद्दमा जनता खनिएका थिए।

जबकी राष्ट्र बैंकको जिम्मेवार पदमा रहेका कुनैपनि कर्मचारीले सामाजिक संजाल या अन्य कुनै माध्यमबाट सार्वजनिक सँस्थाका बिषयमा धारणा बनाउन या राख्न मिल्दैन। पौडेलको यो कार्य गैर जिम्मेवारपूर्ण एवम् राष्ट्र बैंकको नियमविपरीत छ। पौडेलको उक्त कार्यको चौतर्फी विरोध भएको भएपनि ढकालको शक्ति र राजनीतिक पहुँचका आडमा उनीमाथि राष्ट्र बैंकले समेत पौडेललाई कारबाही गर्ने हिम्मत देखाएन ।

पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’

ढकाल तत्कालीन नेकपा माओवादी तथा अध्यक्ष पुष्पकमल दाहाल निकट छन्। पछिल्लो समय डेपुटी गभर्नर बन्ने दौडमा ढकालकै संरक्षण तथा लबिङअनुसार लागिपरेका पौडेल बाहिर कांग्रेस निकट देखिए पनि उनी पदका लागि ढकालमार्फत् नै प्रचण्डसँग निकट सम्बन्ध बनाइ रहेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार उनले हाल ढकालमार्फत् नै राजनीतिक एवं सम्बद्द निकायसँग सम्बन्ध विस्तार गरिरहेका छन्।

यतिमात्र नभइ पौडेलले ग्लोबल आईएमइ बैंकबाट हुने नियमविपरीका कामकारबाहीमा समेत नजरअन्दाज गर्दै आएका छन्। केहि महिना अघि मात्र ग्लोबल आईएमइ बैंकका मार्केटिङ विभाग तथा रिलेसनसिप विभागका प्रमुख योगेश पोखरेलले आफ्नै श्रीमती प्रभा पन्थीका नाममा कम्पनी खडा गरी बिजनेस प्रमोसनको रकमबाट मासिक लाखौँ रुपैयाँ असुल गर्दै आएको तथ्य सार्वजनिक भएको थियो । सोहि तथ्यका आधारमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण पनि गर्यो। तर, ढकाल निकट भएकै कारण ती कर्मचारीको अपराधमाथि अनुसन्धान सुरु भएको भए पनि कर्बाही प्रक्रिया भने रोकियो। राष्ट्र बैंकका एक अधिकारीका अनुसार पोखरेलमाथिको कारबाही प्रकृया रोक्न पौडेलले नै भनेका थिए।

बैंकका अध्यक्ष ढकालको संरक्षण तथा पौडेलको ढाडसका कारण बैंकको जिम्मेवारी पदमा रहेर अख्तियारको चरम दुरुपयोग गर्ने पोखरेल र उनकी श्रीमतीअझैसम्म पनि बैंकमै कार्यरत छन्। राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ती कर्मचारीबाट गम्भीर वित्तीय अपराधम भएको निष्कर्ष निकालेको भए पनि पौडेलकै आडमा उनीमाथी कारबाही न त विभागीय कारबाही भएको छ न त राष्ट्र बैंकले चासो देखाएको छ । त्यसो त पोखरेल पनि ढकालकै आफन्त हुन्। पोखरेलले नियमविपरीत बैंकको तलबमा ढकालका निजी कम्पनी तथा उनी आवद्द संघ संस्थाका काम गर्दै आएका छन्।

त्यस्तै, अध्यक्ष ढकालले नियमविपरीत आफ्नै घरमा बैंकको शाखा कार्यालय राखी मासिक लाखौँ रुपैयाँ असुल गर्दै आएको बिषयमा पौडेल पूर्ण रुपमा जानकार छन्। तर, ढकालका दाहिने हात अर्थमन्त्री रामेश्वर खनालसँग सम्बन्ध बनाई डेपुटी गभर्नर बन्ने होडमा रहेका पौडेलले आफ्नो नियामकीय दायित्वबाट पन्छिएका छन्। उनले उक्त बिषयमा छानविन गर्ने बताएको भए पनि हालसम्म प्रकृया अघि बढाइएको छैन। पौडेल हाल प्रवक्ता छन्। नियमन विभाग आफ्नो जिम्मेवारीमा नरहेको भन्दै पन्छिने गरेका छन्। तर, उनी केहि दिन अगाडि मात्रै नियमन विभागबाट सरुवा भएका हुन्। पौडेल राष्ट्र बैंकको नियमित कामकारबाही नै छाडेर अहिले डेपुटी गभर्नर बनाउने बाटो सहज बनाउन दिनहुँजसो ढकालको सेवामा घरसम्मै पुग्ने गरेको पाईइएको छ।

डेपुटी गभर्नर पद पोलिटिकल नियुक्ति हो। हालका अर्थमन्त्री खनाल पनि यसअधि गभर्नरको रेसमा ढकालकै क्यान्डिडेड थिए। ६५ बर्षे उमेरहदका कारण उनी रेसबाट सुरुमै बाहिरिए। हाल ढकालले अर्थमन्त्रालयमा आफ्ना ग्रुपका कर्मचारी राखी अर्थमन्त्री खनालमार्फत् नियमविपरीतका काम गराउँदै आएको भन्ने चर्चासँगै उनी विवादमा समेत तानिएका छन्। त्यसमाथि डेमोक्रेट भनेर चिनिएका पौडेललाई डेपुटी गभर्नर बनाउन माओवादी निकट रहेका ढकालले गरेको लबिङ्गपछि अर्थमन्त्री खनालमाथि विभिन्न संका उपसंका उत्पन्न भएको छ।

राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा अर्थमन्त्रीको प्रत्यक्ष ईन्ट्रेस र हस्तक्षेप समेत हुँदै आएको छ। उनकै निर्देशनमा गभर्नरले सुरुमा ४ जना प्रमुख कार्यकारी निर्देशकलाई सिफारिस गर्ने र त्यसपछि आफू अनुकूलका २ जना डेपुटी गभर्नर छान्ने व्यवस्था छ। जसमा गभर्नर विश्वनाथ पौडेलले जुनियर नै भए पनि उनका क्लासमेट तथा उनी निकट भएका कारण दीर्घ रावललाई एक नम्बरमा सिफारिस गर्ने योजनामा रहेको राष्ट्र बैंक स्रोतको दावी छ। तथापि गुरु पौडेल पनि डेपुटी गभर्नरका दावेदार हुन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ०७:४०   :  बजे

9.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।