Logo

अर्थ

न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण सुरु



काठमाडौं । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिको समुपस्थितिमा उक्त निर्माण शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अर्थमन्त्री खनालले भने,‘स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग दिने नेपाल सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको छ। एमसीसी र एमसिए–नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्यरूपमा रूपान्तरण गर्दैछौँ ।’

‘थप भरपर्दाे ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा एक प्रतिबद्ध साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको छ’, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम थम्प्सनले भन्नुभयो, “प्रसारण लाइन तथा सबस्टेशन जस्ता आयोजनाहरूले घरपरिवार तथा व्यवसायहरूका बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ । आजको यो कार्यक्रम हामी सहकार्यबाट के कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो ।’

नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा आज एउटा नयाँ अध्याय थपिएको एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले बताए ।

१८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन् २०२४ अन्तर्गत स्वच्छ जलविद्युत् भारत निर्यात गर्नमा नेपाललाई सघाउ दिनेछ ।

१८ किमि प्रसारण लाइन र न्यू बुटवल सबस्टेशनले नेपालमा बढ्दो रूपमा उत्पादन हुन थालेको जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्ने हुनाले यिनीहरू नेपालको आर्थिक भविष्यका लागि महत्वपूर्ण छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।