Logo

प्रमुख समाचार

सडकमा झा र सुमन आतंक, अख्तियार रमिते



काठमाडौं । विगत लामो समयदेखि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा विकृति र विसंगतिसँगै भ्रष्टाचारका काण्डहरु चल्दै आएका थिए । जेनजी पुस्ताबाट बनेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने एजेन्डा ल्याए तापनि उनीहरुकै बलमा बनेको सरकारले त्यो काम गर्न सकेको छैन ।

उल्टै कार्यकारी निर्देशक हुँदा विद्युत प्राधिकरणलाई डुबाएका भ्रष्ट कुलमान घिसिङलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री घिसिङ भौतिक पूर्वाधारको काम छाडेर पार्टी दर्ता गर्ने र विदेश घुमघाममै व्यस्त रहेका छन् । भौतिकको काम थाती राखेर सरही र ऊर्जा मन्त्रालयलाई बढी प्राथमिकता दिँदै आएका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने भवन विभाग, एकीकृत बागमती सभ्यता विकास समिति, संघीय सचिवालयजस्ता महत्वपूर्ण ठाउँका प्रमुखहरु सरुवा गरेर पहिला लगाइएका अधिकांश ठेक्काहरु रद्द गरेका छन् । भौतिक मन्त्रालयमा भने केही ठेक्का तोडिए तापनि अधिकांश ठेक्काहरु यथास्थितिमै रहेका छन् ।

भौतिक मन्त्रालयले गत हप्ता १ सय १९ जना इन्जिनियरहरु सरुवा गर्दा पनि कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम गरेका थिए । यसरी गरिएको इन्जिनियर सरुवामा करोडौंको आर्थिक चलखेल भएको बताइन्छ । मन्त्री घिसिङले यस विषयमा कुनै चासो राखेका छैनन् । किन कि उनलाई जलमाफियाहरुले घुमाइरहेका छन् । मन्त्री घिसिङलाई भौतिक सम्बन्धी अनुभव कम भएको कारणले पनि उर्जातिर मात्रै ध्यान दिने गरेका छन् । भौतिकमा पहिलादेखिका भ्रष्ट कर्मचारीहरुले आतंक मच्चाइरहेका छन् ।

आतंक मच्चाउनेमा भक्तपुर डिभिजनका सुमन योगेश र सडक विभागका प्रभात कुमार झा रहेका छन् । झाले विभागमा बसेर आतंक मच्चाएका छन् भने सुमनले भक्तपुर डिभिजनमा बसेर आतंक मच्चाइरहेका छन् । उनले भक्तपुर डिभिजनमा ९ अर्ब बजेटको ठेक्का आफ्ना आसेपासेलाई दिएर कमिसन लिने काम गर्दै आएका छन् ।

सो ठेक्काको विषयमा विवाद पनि भएको थियो । सुमनले सडक विभागमै जागिर खाएर भक्तपुरको कौशलटारमा आलिसान महल खडा गर्नुको साथै विभिन्न ठाउँमा जग्गासमेत जोडेको स्रोतले उल्लेख गरेको छ । उता, झा केही वर्ष अगाडि पोखरा डिभिजन र सकड विस्तार आयोजना काठमाडौंमा बसेर मस्ती गरेका थिए । सडक विस्तार आयोजना काठमाडौंमा बस्दा धोवी खोलामा बाढी आएर वस्ती डुवानमा पर्दा कुनै वास्ता नगरेको आरोप छ । त्यो काण्डपछि तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले झालाई कारबाही गर्न आदेश दिएका थिए । मुख्यसचिवले आदेश दिँदा पनि सडक विभागले झालाई कारबाही गर्न सकेको थिएन ।

झा सुई भएपछि सडक विभागको संभार महाशाखामा बस्दै आएका थिए । क्यूआर डीसी गुणस्तरमा बसेर ग्वार्को पुल अलपत्र पारेर ठेकेदार भगाउने काम उनै झाले गरेको आरोप छ । तत्कालीन भौतिक मन्त्री देवेन्द्र दाहालले त्यसको अवलोकन गरी छिटो मर्मत गर्नुपर्ने र चाँडो सञ्चालनमा ल्याउनुपर्ने योजना ल्याएका थिए । तर, झाले त्यो पुल पुरै भत्काएर बनाउनुपर्ने माग गरेका थिए । तर, तत्कालीन मुख्यसचिव पौडेलले झालाई विभागी कारबाही गर्नुपर्ने भन्दै २२ पटक पत्र पठाएका थिए ।

तर, सडक विभागले त्यसको कुनै सुनवाइ गरेन । झाले योजना महाशाखामा बस्दा पनि सम्बन्धित सडक डिभिजनहरु सहमति नलिई आफूखुसी रकमान्तर गरेर कमिसन खाने काम गर्दै आएका थिए । अहिले पनि सडक विभागमा महानिर्देशक डा. विजय जैसीभन्दा झा शक्तिशाली भएको कर्मचारीहरुले बताउने गरेका छन् । झाले सडक विभागमा विभिन्न चलखेल गरेर आर्जन गरेको पैसाले घोवीघाटस्थित सानेपामा आलिसान महल खडा गरेको बताइन्छ । झाजस्ता कर्मचारीले गर्दा ठूला राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पर्दै जाने र लागत बढ्दै जाने कारणले समयमा काम सम्पन्न हुन नसकेको कर्मचारी स्रोतको दावी छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार ०८:३०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।