काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले स्वीकृत भएको कर्जा समेत नदिएपछि व्यवसायी विभा सिंह नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता गरेकी छन्। सिंहले राष्ट्र बैंकको गुनासो शाखामा उजुरी दिएकी हुन्।
उद्योग स्थापनाका लागि बैंकबाट १९ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको भए पनि भुक्तानी रोकिएकाले मर्कामा परेको भन्दै सिंहले नियामकलाई गुहार गर्न बाध्य भएको बताएकी छन्। पछिल्लो समय बैंकिङ प्रणालीमै देखिएको यस किसिमको असमान्य व्यवहारको उदाहरण सिद्धार्थ बैंकले देखाएको उनको गुनासो छ।
सिंहले राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नाममा उजुरी दर्ता गरेकी छन्। उजुरीदर्ता भएसँगै केन्द्रीय बैंकले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्न भनेको थियो । तर, सिंहले सीईओसँग महिनौंदेखि भेट गर्न समय मागेको तर वेवास्ता गरिएको गुनासो गरिन्।
उनले भनिन् ,- “म दुई पटकसम्म बैंक गएँ, डेपुटी सीईओसँग मात्रै कुरा भयो, “सीईओसँग अहिले सम्म न भेट भयो न त संवाद।”
उनका अनुसार क्षेत्रीय प्रतिनिधिमार्फत् प्रस्तुत गरिएको गलत विवरणका कारण कर्जा वितरण रोकिएको छ। यो विषयमा बैंकको उच्च तहले चासो नदेखाएको र समस्याको उचित समाधान नखोजिएको उनको आरोप छ।
उजुरीमा उनले बैंकले स्वीकृत कर्जालाई नकारात्मक रूपमा चित्रण गर्दै रकम निकास रोकेकाले आफू आर्थिक मर्कामा परेको उल्लेख गरेकी छन्। यता राष्ट्र बैंकले भने गुनासो दर्ता भएलगत्तै बैंकसँग सोधपुछ गरिएको बताइएको छ।
व्यवसायी सिंहले सिद्धार्थ बैँकविरुद्ध दिएको उजुरीसँगै वित्तीय क्षेत्रको कर्जा स्वीकृतिमा हुने ढिलाइ, बैँक प्रतिनिधिको लापरबाही तथा औपचारिकतामै सिमित सुशासन र बैंकहरूमा देखिने आन्तरिक समन्वयको कमजोरी पुनः एकपटक सतहमा आएको वित्तीय विज्ञहरु बताउँछन्। उनीहरुको बुझाईमा यो बैँक व्यवस्थापनको कमजोरीसँगै नियामक निकायको फितलो सुपरिवेक्षण तथा नियमनको नतिजा हो।
स्वीकृत भएको ऋण रकम भुक्तानी दिन अस्वीकार गर्दै आएको सिद्धार्थ बैंकले प्रवाह भएका अधिकांश कर्जा खराब हुँदा उक्त कर्जाको कर्जा मिलान गर्न ऋणमाथि ऋण थप गरेर बढी नाफा देखाउनका लागि भने टपअपको सुविधा उपयोग गर्दै आएको छ। कर्जा मिलानका लागि टपअपको सुविधा प्रयोग गरी बैंकले हरेक त्रैमासमा नाफा बढी देखाउँदै आएको छ।





















प्रतिक्रिया