नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्मसम्मान र स्वाधीताका निम्ति वामपन्थीहरू एक हुनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी केशी प्रदेशद्वारा सोमबार विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देशसभा’लाई सम्बोधन गर्दै उनले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै साम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राखे ।
दाहालले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरूले पनि सहमति दिएको बताए । उनले आफूहरूलाई सच्चिनका लागि जेन–जी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरूले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराए ।
जेन–जी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिस्ट पार्टीहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको उनको भनाइ थियो ।
उनले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव पनि दिए ।
पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरू एक भएको बताए ।
उनले कम्युनिस्टहरूको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरूलाई एकीकरण गरेको धारणा राख्दै नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।





















प्रतिक्रिया