नेकपा एमालेले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ।
विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा शुक्रबार एमालेका विभिन्न १४ वटा जनसंगठनले सामुहिक रूपमा जाहेरी जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख युवराज कट्टेलको उपस्थितीमा मोरङ प्रहरी प्रमुख कवित कट्वाललाई बुझाएका हुन्। जाहेरी बुझाउने क्रममा एमालेले गठन गरेको अध्ययन कार्यदलका सदस्य मुकेश बुढाथोकीले जेन जीका नाममा भएका तोेडफोड र आगजनीमा संलग्नलाई अविलम्ब कार्वाही हुनुपर्नेमा जोड दिए। जाहेरीसँगै घटनामा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो, भिडियो सहितको विवरण समावेश गरिएको बुढाथोकीले जानकारी दिए।
प्रतिवेदन हस्तान्तरण गर्दै नेकपा एमालेका सचिव सोमराज थापाले कार्यदलको प्रतिवेदनका आधारमा घटनामा संलग्नहरूलाई कारवाहीको माग राखेर जनसंगठनहरूले सामुहिक रूपमा जाहेरी दिएको बताए। एमालेले गरेको अध्ययनमा मोरङको समग्र क्षतिको विवरण समेटिएको उनले बताए।
शुक्रबार जनसंगठनहरूका तर्फबाट संयुक्त जाहेरी दिइएको र त्यसपछि व्यक्तिगत रूपमा पनि जाहेरी दिइने उनको भनाई छ। अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा ५ अर्वको क्षति भएको देखाएको छ। सरकारले सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा भएको तोडफोड, लुटपाट र आगजनीबारे अध्ययन गरेपनि एमालेले पनि छुट्टै अध्ययन गरेको उनले बताए। सोही क्रममा जाहेरी ग्रहणगर्दै मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कटुवालले घटनामा संलग्नहरूलाई कारवाही गरिने बताएका थिए।
१९ मंसिर २०८२, शुक्रबार २१:१७




















प्रतिक्रिया