काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सूचना मंगलबार जारी गरेको छ ।
सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो । सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ ।
उक्त सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो ।
पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल इटहरीका प्रमुख युवराज पोखरेलले बताए ।
ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत वापतको ४ करोड १९ लाख र पेश्की वापतको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरिसकिएको योजना प्रमुख पोखरेलले उल्लेख गरे ।
योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।




















प्रतिक्रिया