काठमाडाैं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस १७ गते हुनेछ भने ढिलोमा माघ २ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ।




















प्रतिक्रिया