Logo

प्रमुख समाचार

जेनजी आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार



काठमाडाैं । सरकारले जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो ।

जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले अति गम्भीर घाइतेलाई १८ हजार, गम्भीरलाई ९ हजार र मध्यमलाई ४ हजार रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ । घाइतेको वर्गीकरण चलिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जेनजी आन्दोलनमा देशभर २ हजार ५ सय २२ जना घाइते भएका थिए । बागमती प्रदेशमा १ हजार ८ सय ७९, कोशीमा २ सय २४, मधेशमा ५९, गण्डकीमा १ सय ३२, लुम्बिनीमा १ सय २९, कर्णालीमा ३५, सुदूरपश्चिममा ६४ जना घाइते भएका थिए । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालबाट संकलन गरेको घाइतेको विवरण गृह मन्त्रालयसम्म पुगिसकेको छ । अब वर्गीकरणको आधारमा उनीहरूले भत्ता पाउनेछन् ।

२३ भदौमा भएको जेनजी आन्दोलनका क्रममा २२ जनाको ज्यान गएको थियो भने भोलिपल्टसमेत गरी ७५ जनाको मृत्यु भएको थियो । आन्दोलनमा राज्य पक्षको गोली लागेर मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ भने उनीहरूलाई गृह मन्त्रालयले ‘जेनजी सुशासन योद्धा’ भनेको छ । २१ मंसिरमा सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले ‘जेन–जी सुशासन योद्धा’ का नाम प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्नसमेत भनेको थियो ।

 

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार १५:३३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।