Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सको पक्षमा सर्वोच्चको फैसला, आईपीओ नरोकिने



काठमाडौं । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा फैसला गरेको छ । इतिहासकै महँगो मूल्यमा बिक्री गरेको साधारण सेयर (आईपीओ) नरोक्न शुक्रवार आदेश दिएको छ ।

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले आईपीओ रोक्न माग गर्दै दायर गरेको रिटमा विपक्षमा फैसला गरेका छन् । सर्वोच्चमा नेपाल सेयर बजार लगानीकर्ता संघ नामक संस्थाको तर्फबाट महासचिव खगेन्द्रराज कँडेल मंसिर २२ गते रिट दायर गरेका थिए ।

कँडेलसमेत २ जनाले अर्थ मन्त्रालय समेतलाई विपक्षी बनाएर ‘रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्काशनमा कम्पनीको चुक्ता पुँजीको कम्तिमा १० प्रतिशत सेयर पाउने हकलाई बन्चित गर्ने गरी, सेयरको प्रिमियम दर कम्पनी ऐन २०६३ तथा धितोपत्र ऐन २०६३ विपरित हुने गरी धितोपत्र निष्काशन गर्दा अघिल्लो आर्थिक वर्षको आर्थिक विवरणका आधारमा पुन विवरणपत्र स्वीकृत तथा प्रकाशन नगरी, संस्थागत लगानीकर्ताहरु बुक बिल्डिङ निर्धारण गरी कायम गरिएको मूल्यमा विदेशमा रोजगारीमा रहेका नेपाली नागरिक लगायत सर्वसाधारणलाई बढी रकम लिने गरी निष्काशन गरेको सम्बन्धमा हालसम्म भएका कामकारबाही उत्प्रेषणको आदेशले बदर गरी कम्पनीको यथार्थ तथा वास्तविक आर्थिक विवरणका आधारमा सेयरको प्रिमिय दर कायम गरी पुन विवरण पत्रको स्वीकृति तथा प्रकाशन गरी नेपाली सर्वसाधारण जनताले कम्तिमा १० प्रतिशत सेयर पाउने कानुनीहकको सुनिश्चिति गर्ने गरी सेयर निष्काशन गर्नु गराउनु भनि परमादेशसमेत जारी गर्न माग’ गरिएको थियो । तर इजलासले माग बमोजिम नहुने आदेश जारी गरेको हो ।

रिलायन्स आईपीओको विषयमा छानबिन नेपाल धितोपत्र बोर्डले बोर्डका सदस्य विनोद कुमार भट्टराईको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गरेको अवस्था छ । सदस्यमा बोर्डकै सदस्य आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी रहेका छन् । आवश्यकता अनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने बोर्डले जानकारी दिएको छ । आज बोर्डले गरेको निर्णय अनुसार समिति गठन भएको हो ।

समितिले १५ दिन भित्र छानबिन गरी प्रतिवेदन पेस गर्नु पर्ने समय सीमा दिएको छ ।

रिलायन्सको विषयमा छानबिन गर्ने अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको थियो । मन्त्रालयले लिएको याक्सनका कारण बोर्डले समिति गठन गरेको हो ।

उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले अवरुद्ध आईपीओ निष्काशन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै रिलायन्सले मंसिर २२ गतेदेखि विदेशमा बस्ने नेपालीको लागि आईपीओ निष्काशन खुला गरेको थियो ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत (१ लाख १५ हजार ५९६ कित्ता) वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि निष्काशन गरेको थियो ।

कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो ।

सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि खुला गरेको आईपीओ बाँडफाँड पश्चात कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका आगामी पुस ७ गतेदेखि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार १७:१८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।