काठमाडाैं । सिएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल नेपालमा परीक्षणका क्रममा देखिएको छ। नेपालमा एड्भेन्चर तथा डुअल–स्पोर्ट सेगमेन्टप्रतिको बढ्दो आकर्षणलाई लक्षित गर्दै सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘२५० डुअल’ मोडलको परीक्षण सुरु गरेको हो। कम्पनीले निकट भविष्यमै उक्त मोडल नेपाली बजारमा लन्च गर्ने तयारी गरिरहेको संकेत दिएको छ।
नयाँ डुअल–स्पोर्ट मोटरसाइकलले शहरी यात्रादेखि अफ–रोड एड्भेन्चरसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। सिएफमोटोले यस मोडललाई मजबुत अफ–रोड क्षमता र स्लीक, अर्बन–रेडी डिजाइनको संयोजनमा तयार पारेको जनाएको छ। नेपालका विविध सडक अवस्था र चुनौतीपूर्ण भूपरिवेशलाई मध्यनजर गर्दै विशेष रूपमा उपयुक्त मोटरसाइकल विकास गर्न खोजिएको कम्पनीको भनाइ छ।
डिजाइन पक्षमा नयाँ २५० डुअललाई आकर्षक र एग्रेसिभ लुक्स दिइएको छ। शार्प एंगुलर फ्रन्ट फेसिया, विशेष डुअल–स्पोर्ट हेडलाइट, अफ–रोड यात्राका क्रममा धुलो र ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर तथा लम्बिएको फोर्क गार्ड यसको प्रमुख विशेषता हुन्।
साथै, लामो ट्राभल सस्पेन्सन, स्लिम र स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट तथा डुअल–पर्पस टायरले यसलाई वास्तविक डुअल–स्पोर्ट पहिचान दिएको छ।
इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित यो मोटरसाइकललाई आधुनिक उत्पादन प्रविधि र प्रिमियम फिनिशिङमार्फत थप परिष्कृत बनाइएको छ। स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो तथा स्लिम सीट प्रोफाइलले उभिएर चलाउँदा पनि राम्रो नियन्त्रण दिन सहयोग गर्ने बताइएको छ।
हाल सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफ–रोड ट्रेलसम्म टिकाउपन र ह्यान्डलिङको परीक्षण भइरहेको छ। एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनका कारण सिएफमोटो २५० डुअल लामो यात्रा तथा विकेन्ड एड्भेन्चरका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया