Logo

समाचार

अल जेनजी मुभमेन्टद्वारा सर्वपक्षीय राष्ट्रिय सरकारको माग



काठमाडौं । अल जेनजी मुभमेन्टले वर्तमान सरकार देशलाई निकास दिन असफल भएको आरोप लगाउँदै सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अल जेनजी मुभमेन्ट नेपालले आइतबार सिंहदरबारको दक्षिण गेटमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले गरेको धरपकड गैरन्यायिक र गैरकानुनी भएको आरोप लगाएको हो।

मुभमेन्टका प्रतिनिधि मेग खत्रीले शान्तिपूर्ण प्रदर्शनमाथि हस्तक्षेप गरिएकोप्रति आपत्ति जनाउँदै वर्तमान सरकारले पनि अघिल्लो सरकारकै जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएको बताए। उनले शान्तिपूर्ण प्रदर्शनमा दमन हुनु लोकतान्त्रिक मूल्यविपरीत भएको दाबी गरे।

हरिकृष्ण गजुरेलले जेनजीहरूको ऐतिहासिक आन्दोलनबाट बनेको सरकारले नै भ्रष्ट व्यक्तिहरूलाई संरक्षण गरेको आरोप लगाए। उनले सुशीला कार्की नेतृत्वको सरकार हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्नुको विकल्प नरहेको बताए।

माधव ठकुरीले जेनजीको आन्दोलनबाट बनेको सरकारले उनीहरूले उठाएका मागकै विरुद्ध काम गरेको भन्दै देशमा थप द्वन्द्व चर्किन सक्ने चिन्ता व्यक्त गरे। सरकार र जेनजीबीच सहकार्य हुनुपर्नेमा तिक्तता बढ्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

डा. शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा गरिएको धरपकड गैरकानुनी भएको भन्दै सरकारले माफी माग्नुपर्ने माग गरे। जनक थापाले संविधानप्रदत्त अधिकार कुण्ठित भए ठूलो विद्रोह हुने चेतावनी दिए।

अशोक रानामगरले राष्ट्रिय मुक्तिका लागि अल जेनजी मुभमेन्टले नेतृत्व लिएर राजनीतिक निकास दिने दाबी गरे।

आइतबार सिंहदरबारको दक्षिण गेटमा भएको प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर र जनक थापलाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्त, अनामनगरमा राखेको थियो।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १५:२७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।