Logo

खेलकुद

राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि



काठमाडौ‌ं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए ।

नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता टोलीलाई ५ लाख प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले २ लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेले १ लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

उक्त नवौँ संस्करणको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई रु ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिनेसमेत आयोजकका अध्यक्ष रञ्जन खड्काले बताए । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख लाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १५:५१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।