काठमाडौं । जेनजी नेपालका संयोजक तथा संयुक्त जेनजी आन्दोलनका प्रवक्ता कृष्ण मोहन सहनीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेमाथि जेनजी पुस्तालाई व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागि प्रयोग गरेको गम्भीर आरोप लगाएका छन्।
सहनीले एकअभिब्यक्ति जारी गर्दै जेनजी आन्दोलन देशभक्ति, भ्रष्टाचारविरुद्धको अभियान र संवैधानिक सुधारको मागसहित सुरु भएको भए पनि हाल केही नेताहरूले त्यसको मूल भावना विपरीत आफ्नो व्यक्तिगत तथा पार्टीगत लक्ष्य पूरा गर्न प्रयोग गरिरहेको दाबी गरेका छन्।
उनले भने, “जेन्जी आन्दोलन साँचो परिवर्तन र सुशासनका लागि उठाइएको थियो, कुनै नेता वा पार्टीलाई अग्रपंक्तिमा राख्नका लागि होइन। तर अहिले बालेन र रवि जस्ता नेताहरूले जेन्जी पुस्ताको समर्थनलाई आफ्ना राजनीतिक लक्ष्य हासिल गर्ने साधन बनाइरहेका छन्।”
सहनीका अनुसार, युवाहरूले उठाएको आवाजलाई राजनीतिक औजार बनाइँदा आन्दोलनको मूल उद्देश्य कमजोर भएको छ र युवा पुस्ताको विश्वासमा गहिरो क्षति पुगेको छ। उनले जनताको आवाजलाई राजनीतिक रूपमा व्यापारिकरण गरिएको र युवा वर्गका वास्तविक मुद्दा ओझेलमा परेको प्रतिक्रिया पनि दिएका छन्।
यो टिप्पणी बालेन र रविका समर्थकहरूको प्रभाव तथा युवा समर्थनलाई चुनावी र राजनीतिक लाभका लागि प्रयोग गरिएको आरोपसँग जोडिएको छ, जसका कारण हाल राजनीतिक वृत्तमा व्यापक बहस र आलोचना सुरु भएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार जेन्जी आन्दोलनले सुरुमा भ्रष्टाचार, सामाजिक असमानता र लोकतान्त्रिक सुधारजस्ता मुद्दालाई केन्द्रमा राखेको थियो। तर आन्दोलनपछिको राजनीतिक सक्रियता र विभिन्न नेताहरूको संलग्नताले युवा समर्थनलाई राजनीतिक औजार बनाइएको हो कि भन्ने बहसलाई बल दिएको उनीहरूको भनाइ छ।




















प्रतिक्रिया