Logo

अर्थ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा



काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धरौटी जमानत लिएर छाडेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १५:०६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।