काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । पार्टीका २५ केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास महाराजगञ्जमा भएको भेटमा देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे ।
उक्त समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनकाअनुसार समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दैछ ।
उनले सभापति देउवासँग आफूहरूले पार्टीलाई निकास दिन र विभाजनमा जान नदिनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको पनि बताइन् । ‘पार्टीलाई निकास दिनुपर्यो । विभाजनतर्फ जान दिनुभएन भन्ने कुरा राख्यौं,’ संग्रौलाले भनिन्, ‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔं भन्ने म त चाहिनै रहेको छु भन्नुभयो ।’
१६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका छन् ।
उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् । विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।





















प्रतिक्रिया