काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् ।
राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको थियो ।
भेनेजुएलाको संविधानले राष्ट्रपतिको अनुपस्थितिलाई पूर्वानुमान गर्दै विभिन्न अवस्थाहरूको व्यवस्था गरेको छ। धारा २३३ र २३४ अनुसार, अनुपस्थिति अस्थायी होस् वा पूर्ण, उपराष्ट्रपतिले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।
अर्थ र तेल मन्त्रालय दुवैको जिम्मेवारी पनि सम्हालिरहेकी रोड्रिगेजले शनिबार दिउँसाेदेखि कार्यकारी राष्ट्रपतिकाे जिम्मेवारी पनि सम्हालिरहेकी छिन् ।
मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस पक्राउ परेपछि केही घण्टामै उनले अन्य मन्त्री र वरिष्ठ अधिकारीहरूका बीच राष्ट्रिय रक्षा परिषद्को बैठकको अध्यक्षता गरिन् र उक्त दम्पतीको “तत्काल रिहाइ” माग गर्दै अमेरिकी सैन्य अपरेशनको निन्दा गरिन्।
भेनेजुएलाको झन्डाअगाडि उभिँदै रोड्रिगेजले बिहान सबेरै गरिएको उक्त अपरेशन अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकताको खुला उल्लङ्घन भएको बताइन्।





















प्रतिक्रिया