Logo

राजनीति

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिले दिइन् ट्रम्पलाई यस्तो सन्देश



काठमाडौँ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्यका लागि तयार रहेको बताएकी छन्।

कार्यवाहक राष्ट्रपतिको हैसियतमा मन्त्रिपरिषद्को पहिलो बैठकपछि जारी विज्ञप्तिमा रोड्रिगेजले भेनेजुएला शान्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकासँग सन्तुलित, सम्मानजनक र संवादमुखी सम्बन्ध अघि बढाउन प्राथमिकता दिने बताएकी हुन्।

उनले अन्तर्राष्ट्रिय कानुनको दायराभित्र रही सहकार्यको एजेन्डा अघि बढाउन अमेरिकी सरकारलाई आमन्त्रणसमेत गरेकी छन्।
‘राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन्,’ विज्ञप्तिमा रोड्रिगेजले भनिन्, ‘यो सन्देश सधैँ राष्ट्रपति निकोलस मादुरोको रहँदै आएको छ र अहिले सम्पूर्ण भेनेजुएलाको साझा सन्देश पनि यही हो।’

रोड्रिगेजले भेनेजुएलालाई शान्ति, विकास, सार्वभौमिकता र आफ्नै भविष्य निर्धारण गर्ने अधिकार भएकोमा जोड दिएकी छन्।

यसैबीच, अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिएका थिए। उक्त घटनापछि दुवै देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको पृष्ठभूमिमा रोड्रिगेजको यो प्रस्ताव आएको हो।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १८:४१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।