काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईबीच एक–अर्काविरुद्ध दायर गरिएको गालीबेइज्जती सम्बन्धी मुद्दामा अदालतले दुवै पक्षको दाबी पुग्ने फैसला गरेको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सोमबार बस्नेत र प्रसाईले एक–अर्काविरुद्ध दायर गरेको मुद्दामा मागबमोजिम दाबी पुग्ने ठहर गरेको हो । यद्यपि, उनीहरूलाई कस्तो सजाय हुने भन्ने विषयमा भने फैसलामा स्पष्ट गरिएको छैन ।
बस्नेतले २०८० कात्तिक १७ गते प्रसाईविरुद्ध र प्रसाईले कात्तिक ११ गते बस्नेतविरुद्ध गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए । दुवै पक्षले कैद र जरिवाना सजायको माग गरेका थिए ।
अदालतका श्रेस्तेदार हेमराज शर्माका अनुसार ‘दाबी पुग्ने’ आदेशको अर्थ दुवै जनालाई सजाय हुने भन्ने हो । तर फैसला ढिलो आएको र अदालत बन्द भइसकेकाले कति कैद वा कति जरिवाना हुने भन्ने विवरण तत्काल उपलब्ध गराउन नसकिएको उनले बताए ।
जिल्ला अदालतको फैसलाविरुद्ध दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ । पुनरावेदनको क्रममा दुवै पक्षले मिलापत्र गर्न सक्ने विकल्प पनि रहनेछ ।





















प्रतिक्रिया