काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा जर्सी सार्वजनिक गरेको हो।
क्यानकाअनुसार सार्वजनिक गरिएको जर्सी तीन फरक संस्करण र मूल्यमा उपलब्ध हुनेछ । खेलाडीले नै प्रयोग गर्ने उच्च गुणस्तरको जर्सीको मूल्य ३,४९९ रुपैयाँ तोकिएको छ। यस्तै ‘रेप्लिका एडिसन’ जर्सी १,५९९ रुपैयाँमा र ‘फ्यान जर्सी’ ७९९ रुपैयाँमा प्राप्त गर्न सकिनेछ। क्यानका अनुसार जर्सी नजिकैका भाटभटेनी सुपरस्टोरहरूमा उपलब्ध हुनेछ।
यसपटकको आइसिसी पुरुष टी–२० विश्वकप भारत र श्रीलंकामा आयोजना हुँदैछ। प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ। २९ दिन चल्ने प्रतियोगितामा नेपालसहित २० टोलीको सहभागिता रहनेछ। भारतका पाँच र श्रीलंकाका तीन मैदानमा खेलहरू हुनेछन्।
टी–२० विश्वकपको दशौं संस्करणमा नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्।




















प्रतिक्रिया