काठमाडौं । संयुक्त राष्ट्रसङ्घले वेस्ट बैङ्कमा इजरायलले प्यालेस्टिनीमाथि गर्दै आएको भेदभाव र पृथकीकरण हालका वर्षहरूमा झनै तीव्र बनेको जनाएको छ।
कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा मानवअधिकारको अवस्थाबारे सार्वजनिक नयाँ प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले प्यालेस्टिनीविरुद्धको ‘रङ्गभेद’ गम्भीर रूपमा बिग्रिँदै गएको उल्लेख गरेको छ।
मानवअधिकार प्रमुख भोल्कर टर्कले वेस्ट बैङ्कमा प्यालेस्टिनीहरूको अधिकार व्यवस्थित रूपमा दबाइँदै आएको बताए। उनका अनुसार पानी, शिक्षा, स्वास्थ्य सेवा, आवतजावतदेखि जीविकोपार्जनसम्मका सबै पक्ष इजरायलका भेदभावपूर्ण कानून र नीतिबाट प्रभावित छन्।
यस्तो अवस्था अघिल्ला रङ्गभेद प्रणालीसँग मिल्दोजुल्दो रहेको प्रतिवेदनमा उल्लेख छ। संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञहरूले यसअघि नै उक्त क्षेत्रको अवस्थालाई ‘रङ्गभेद’ भनेका थिए । मानवअधिकार प्रमुखले भने पहिलो पटक औपचारिक रूपमा यही शब्द प्रयोग गरेका हुन्।
यद्यपि जेनेभास्थित इजरायली कूटनीतिक नियोगले आरोपलाई अस्वीकार गर्दै यसलाई राजनीतिक र पक्षपाती आरोप भनेको छ। प्रतिवेदनमा इजरायली बसोबासी र प्यालेस्टिनीलाई फरक–फरक कानूनअन्तर्गत राखिँदा गम्भीर असमानता सिर्जना भएको उल्लेख छ।
जमिन कब्जा, विस्थापन, सैन्य अदालतमार्फत मुद्दा चलाउने अभ्यास र बसोबासी हिंसाले भेदभाव झनै बढेको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घले इजरायललाई जाति, धर्म वा उत्पत्तिका आधारमा हुने सबै भेदभावपूर्ण कानून र अभ्यास खारेज गर्न माग गरेको छ।
हाल वेस्ट बैङ्कमा करिब ५० हजार इजरायली बसोबासी र करिब ३० लाख प्यालेस्टिनी बसोबास गर्छन्।



















प्रतिक्रिया