पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रको उम्मेदवार आकांक्षीहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार क्षेत्र र जिल्ला कमिटीहरूबाट प्राप्त भएका रायसहित सबै नामहरूलाई जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाइएको हो । १८ वटै क्षेत्रबाट १ सय २१ जना सिफारिस भएका हुन् ।
सबैभन्दा धेरै कास्कीबाट ३२ जना, स्याङजाबाट २१ जना छन् भने तनहुँबाट १८ जना आकांक्षी छन् ।
गण्डकीका केही निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा एकल नाम पठाइएको छ भने कतिपय क्षेत्रमा ठुलो संख्यामा आकांक्षीहरूको नाम समावेश छ । केन्द्रीय कमिटीले यही सिफारिसका आधारमा अन्तिम उम्मेदवारको टुंगो लगाउनेछ ।
सिफारिस गरिएका १८ क्षेत्रमध्ये तीन वटा निर्वाचन क्षेत्रमा एमालेले एकल नाम सिफारिस गरेको छ । नवलपुर–२, बागलुङ–२ र मनाङमा एकल सिफारिस भएको हो ।
नवलपुर–२ बाट तिल बहादुर महत क्षेत्री, बागलुङ २ बाट मञ्जु शर्मा चालिसे र मनाङबाट पोल्देल छोपाङ गुरुङको नाम एकल सिफारिस भएको दवाडीले जानकारी दिए ।





















प्रतिक्रिया