Logo

अनलाइनपाना खोज

बालेनको नजर झापा–५ मा, ओलीसँग निर्वाचन लड्ने तयारी



काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने चाहना व्यक्त गरेका छन्।

ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको निवासमा आइतबार साँझ झापा रास्वपा टोलीसँग करिब डेढ घन्टा चलेको छलफलका क्रममा बालेनले झापा–५ बाट चुनाव लड्ने संकेत दिएका हुन्।

छलफलमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोली सहभागी थियो। रास्वपा झापाका सचिव शम्भु सुस्केराले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट बालेनले उम्मेदवारी दिने संकेत गरेको जानकारी देशसञ्चारलाई दिए। ओली २०४८ सालदेखि झापा–५ बाट एकपटकबाहेक निरन्तर निर्वाचित हुँदै आएका छन्।

२०६४ सालमा भने उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए। बालेनको सम्भावित उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया दिँदै सुस्केराले उनी झापा आए रास्वपाको पक्षमा उल्लेख्य माहोल बन्ने अपेक्षा व्यक्त गरे।

सुस्केरा स्वयं झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्। झापा टोलीसँगको छलफलमा बालेनले झापा–५ को वस्तुस्थिति, विकास–निर्माणको अवस्था र परम्परागत दलहरूको प्रभावबारे आफ्नो टोलीले गरेको प्रारम्भिक अध्ययनबारे जानकारी गराएका थिए।

यसैबीच, बालेनले आइतबार राति सामाजिक सञ्जालमा ‘सबैलाई शुभकामना, हामी आउँदै छौँ’ भन्ने स्टाटस लेख्दै राजनीतिक संकेतसमेत दिएका छन्।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार ०८:०३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।