काठमाडौं । नेपालको पछिल्लो राजनीतिक असन्तोषको मूल कारण जेनजी पुस्ताको निराशा र नतिजामुखी सोच भएको उद्योगपति तथा चौधरी ग्रुप र सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले बताएका छन्।
साइनर्जिया फाउन्डेसन र हार्भर्ड क्लब अफ इन्डियाको संयुक्त आयोजनामा सम्पन्न बन्द–कक्ष रणनीतिक राउण्डटेबल छलफलमा बोल्दै उनले पछिल्ला २५ वर्षमा नेपालले भोगेको निरन्तर राजनीतिक अस्थिरता—करिब २० सरकार परिवर्तन, गृहयुद्ध, राजतन्त्रको अन्त्य, संविधान निर्माण, भूकम्प तथा हिंसात्मक आन्दोलन—ले युवा पुस्तालाई गहिरो रूपमा प्रभावित पारेको उल्लेख गरे।
“जेनजी कुनै विचारधारा वा नारामा बाँधिएको छैन, उनीहरू नतिजा खोज्छन्,” चौधरीले भने। उनका अनुसार बंगलादेशमा हालै देखिएको आन्दोलन पूर्ण रूपमा जेनजी नेतृत्वको हो, जसको प्रभाव नेपालमा पनि देखिन थालेको छ।
चौधरीले ‘Open Border Generation’ को अवधारणा प्रस्तुत गर्दै सूचना, भौगोलिक, आर्थिक, सांस्कृतिक र डिजिटल सिमानाहरू अब परम्परागत रूपमा सीमित नरहेको बताए। सामाजिक सञ्जाल नै जेनजीको प्रमुख सूचना स्रोत बनेको उल्लेख गर्दै नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले राजनीतिक उथलपुथल निम्त्याएको उदाहरण पनि उनले स्मरण गराए।
दैनिक २ देखि ३ हजार नेपाली विदेश पलायन भइरहेको तथ्य प्रस्तुत गर्दै उनले आर्थिक तथा श्रम सिमानाहरू व्यवहारतः खुला भइसकेको बताए। उनका अनुसार नेपालको सबैभन्दा ठूलो जोखिम स्थायी ब्रेन ड्रेन हो। दोस्रो पुस्ता विदेशमै बसाइ सरेसँगै पैतृक सम्पत्ति बिक्री, स्वदेश फर्कने सम्भावना न्यून हुनु र रेमिट्यान्स घट्ने खतरा बढ्दै गएको उनले औंल्याए। हाल नेपालको अर्थतन्त्र करिब २० अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्समा निर्भर रहेको पनि उनले बताए।
युवा पुस्ताले मेरिटमा आधारित अवसर, अर्थतन्त्र बुझ्ने नेतृत्व, डिजिटल पारदर्शिता र राजनीतिक स्थिरता चाहेको चौधरीको भनाइ छ। नेपाललाई भारत र चीनबीचको ‘स्यान्डविच’ का रूपमा चित्रण गर्दै उनले यस अवस्थाबाट रणनीतिक लाभ लिनुपर्ने धारणा राखे।
कार्यक्रममा भारतीय सेनाका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन्स (DGMO) लेफ्टिनेन्ट जनरल राजीव घई, भारतका पूर्व योजना आयोग उपाध्यक्ष मोन्टेक सिंह अहलुवालिया, पूर्व परराष्ट्र सचिव श्याम सरन, पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरन, पूर्व गुप्तचर प्रमुख राजीव जैन, राष्ट्रिय सुरक्षा परिषद सचिवालयका पूर्व सल्लाहकार ए. बी. माथुर, भारतीय वायुसेनाका पूर्व उपप्रमुख एयर मार्शल नागेश कपूर, फ्रान्स र मोनाकोका लागि भारतका पूर्व राजदूत जावेद अशराफलगायतले आ–आफ्ना विचार राखेका थिए। कार्यक्रमको अध्यक्षता साइनर्जिया फाउन्डेसनका संस्थापक तथा अध्यक्ष टोबी साइमोनले गरेका थिए।




















प्रतिक्रिया