Logo

राजनीति

बालेन्द्रले माला अस्वीकार गर्दै ठेलेका हुन् ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले इटहरीमा एक व्यक्तिले लगाइदिन खोजेको माला अस्वीकार गर्दै ठेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, उक्त घटनाको वास्तविकता भने फरक रहेको खुलेको छ। उक्त भिडियोमा माला लगाउन खोज्ने व्यक्ति स्वयम् रास्वपाका तर्फबाट सुनसरी क्षेत्र नम्बर-२ का उम्मेदवार लालविक्रम थापा हुन्। थापाले उक्त घटना नियतवश नभई भिडभाडका कारण उत्पन्न असमझदारी मात्र भएको स्पष्ट पारे।

उम्मेदवार थापाका अनुसार बालेन शाह खाना खानका लागि गाडीबाट ओर्लिने क्रममा घटना भएको हो। थापाले भने, ‘उहाँले गाडीको ढोका खोल्नुभयो, म ढोकाको ठिक पछाडि थिएँ। बाहिर ठुलो भिडभाड थियो।

मैले एक्कासि माला लगाइदिन खोज्दा उहाँले मलाई चिन्नुभएन। नचिनेको मान्छे वा भिडबाट कोही आयो भन्ने ठानेर उहाँले रोक्न खोज्नुभएको हो।’

थापाले आफू बालेनको निकट सम्बन्ध भएको व्यक्ति भए पनि त्यस बखतको हुलहुज्जत र हतारोका कारण बालेनले नचिनेर त्यस्तो प्रतिक्रिया दिएको बताए।

‘मैले हातमा झन्डा पनि बोकेको थिएँ, निर्वाचन आचारसंहिताको विषय र सुरक्षा संवेदनशीलताले गर्दा पनि उहाँ तर्किएर जान खोज्नुभएको हो, मलाई ठेल्ने नियत होइन,’ थापाले भने।

उक्त घटनाको केही समयपछि घरभित्र पुगेर कुराकानी गर्दा बालेनले माफी मागेको थापाले जानकारी दिए। ‘भित्र पुगेपछि उहाँले ए तपाईं पो हुनुहुँदो रहेछ, मैले त थाहा नै पाइनँ भन्दै सरी भन्नुभयो,’ थापाले भने, ‘त्यसपछि मैले उहाँलाई माला लगाइदिएँ र उहाँले खुसीसाथ स्वीकार गर्नुभयो।’

रास्वपामा माला र खादाको संस्कृति नभए पनि आफूले इटहरीमा भावी प्रधानमन्त्रीको रूपमा हेरिएका नेतालाई आफ्नै घरमा स्वागत गर्न खोज्दा यस्तो संयोग परेको उनले बताए।

थापाले सामाजिक सञ्जालमा भाइरल भएको उक्त क्लिपलाई लिएर गलत अर्थ नलगाउन र यसलाई सामान्य मानवीय त्रुटिका रूपमा बुझिदिन आग्रह समेत गरेका छन्।यो समाचार नागरिक दैनिकमा छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार २१:१६   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।