कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसद् पुनःस्थापनाको हल्ला फिजाउनु पराजित मानसिकताको उपज भएकाे बताएका छन् ।
बाराको बारागढी गाउँपालिकाको खोपवा बजारमा बुधबार निर्वाचन परिचालन कमिटीको विशेष प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्ताे बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पराजित हुने मानसिकताका कारण चुनावको मुखमा संसद् पुनःस्थापनााको भ्रम फैलाइरहेको आरोप उनले लगाए । चुनावको विकल्प नभएको बताउँदै उनले चुनावबाट कोही भाग्न नहुने बताए ।
‘अहिलेको चुनाव फेक र रियलको लडाइँ हो, जनताले फेकहरुलाई हराउनै पर्छ । अहिले फेक नेता र तीनका फेक एजेण्डाको चर्चा गरिँदै छ, यो देशको लागि सर्वाधिक घातक कुरा हो ।
सोसल मिडियामा स्टन्ट गर्ने, फेक आइडीबाट झुटो प्रचार गर्नेहरूको दबदबा छ, यसलाई चिर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सत्य र असत्यको लडाइँ भएकाले आम मतदाताले रियललाई मतदान गरेर विजयी बनाउने र फेकहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए ।
रास्वपा वरिष्ठ नेता समेत रहेका काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई लक्षित गर्दै साहले भने, ‘देशकै ठुलो र धनी महानगरको नेतृत्व गर्दा पनि विकासको मोडेल दिन नसक्ने बालेनजीले अहिले प्रधानमन्त्री बन्ने सपना देखेर नक्कली कुरा गर्दै छन् ।
यस्ता नक्कलीहरूलाई आम जनताले निर्वाचनबाटै बहिष्कार गर्नुपर्छ ।’
काठमाडौँ महानगरकाे मेयर हुँदा काठमाडौँको मुहार फेर्न नसक्नेले देश बदल्छौँ भनेर धाक नलगाउन चेतावनी दिँदै आजपा अध्यक्ष साहले यिनीहरू नयाँ नभई टेस्टेड असफल फिगर भएको टिप्पणी गरे ।




















प्रतिक्रिया