काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका आरोपित नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ऋषिकेश शर्मालाई विशेष अदालतले साधरण तारेखमा छाड्न दिएको आदेश बदरको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको छ ।
आयोगले विशेष अदालतको आदेश बदर गरी प्रतिवादी बनाइएका शर्मालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको छ । अख्तियारले शर्मालाई विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) बमोजिम थुनामै राखेर मुद्दा अघि बढाउन माग गरेको छ ।
अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणमा लागत अनुमान अस्वाभाविक रूपमा बढाई राज्यलाई ठूलो आर्थिक हानी पुर्याइएको छ।
शर्मासहितका प्रतिवादीहरूको मिलेमतोमा स्वीकृत लागतभन्दा करिब ७ करोड ४३ लाख अमेरिकी डलर बढी देखाएर सम्झौता गरिएको र यसबाट करिब ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको नोक्सानी भएको आयोगको आरोप छ।
निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई प्रतिवादीहरूले बिना प्रश्न स्वीकार गरी सम्झौताको आधार बनाएको अख्तियारको दाबी छ।




















प्रतिक्रिया