Logo

राजनीति

रुपन्देहीमा विश्वप्रकाश शर्माको प्रस्ताव: ५ वर्ष स्थिर सरकारका लागि चुनावपूर्व राष्ट्रिय सहमति गरौं



भैरहवा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार सुनिश्चित गर्न चुनावअघि नै राष्ट्रिय सहमति गर्न प्रस्ताव गरेका छन्।

रुपन्देहीको भैरहवामा आयोजित ५ उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले प्रायः दलहरू यसपटक गठबन्धन नगरी चुनावमा गएको उल्लेख गर्दै यसलाई सकारात्मक अभ्यासका रूपमा व्याख्या गरे। कांग्रेस बहुमत ल्याउने लक्ष्यका साथ अघि बढेको बताए पनि उनले दीर्घकालीन राजनीतिक स्थायित्वका लागि संवैधानिक व्यवस्था आवश्यक रहेको धारणा राखे।

उनका अनुसार प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतका आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरा पाँच वर्ष शासन गर्ने व्यवस्था गरिनुपर्छ। यदि स्पष्ट बहुमत नपुगेमा ‘विनर्स टेक अल’ अवधारणाअनुसार आवश्यक संख्या सुनिश्चित गर्ने र दोस्रो, तेस्रो लगायतका दलहरू पाँच वर्षसम्म प्रतिपक्षमै बस्ने प्रणाली विकास गर्नुपर्ने उनले प्रस्ताव गरे।

शर्माले सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट यस्तो सहमति संविधानमा अंकित गर्नुपर्ने सुझाव दिए। चुनावअघि सरकार, राजनीतिक दल, बौद्धिक क्षेत्र र ‘जेनजी’ सहभागी हुने गोलमेच वा वृहत् सम्मेलनमार्फत वर्तमान संविधान र समग्र शासकीय पद्धतिमा दर्जनभन्दा बढी सुधारका विषयमा सहमति जुटाउन सकिने उनको भनाइ थियो।

उनले राजनीतिक अस्थिरताले विकास र सुशासनमा अवरोध सिर्जना गरेको उल्लेख गर्दै अब स्थायित्व, स्पष्ट जिम्मेवारी र प्रभावकारी प्रतिपक्षसहितको प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ११:५४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।